विराटनगर । विराटनगरको हिमालय रोडलाई सौन्दर्यकरण गर्ने काम अब एक महिनाभित्र सम्पन्न गर्ने विराटगनर महानगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भएसँगै त्यसलाई व्यवसायिक उपयोगमा ल्याउने महानगरको तयारी छ ।
सिक्किमको एमजी रोडको नमूनाका रुपमा विराटनगरमा निर्माणाधीन सो रोडको सौन्दर्यकरण गर्दा विभिन्न संरचना निर्माण थालिएको थियो । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माण कार्य रोकिएको थियो । महानगरका मेयर नागेश कोइरालाले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न र सडकलाई उद्देश्य अनुसार सञ्चालन गर्न निर्देशन दिएपछि रोकिएको कार्यले पुन गति लिएको महानगरले जनाएको छ ।
उक्त सडकमा अहिले बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतको सौन्दर्यकरणको काम तीव्र रुपमा अगाडि बढेको महानगरले जनाएको छ ।
जनआन्दोलन चोकबाट ट्राफिक चोक जोड्ने उक्त सडकलाई सौन्दर्यकरण गर्दा त्यसको संरचना बिग्रिएको र उपयोगितामा नआउने सम्भावना रहेको भन्दै स्थानीयले विरोध जनाएका छन् । त्यस रोडमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुले पनि आफूहरुको व्यापार अन्यत्र विस्थापन गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
महानगरले भने ठूलो सरकारी धनराशी लगानी भइसकेकोले त्यसलाई सञ्चालन गर्नुको विकल्प आफूसँग नभएको भन्दै मेयर कोइरालाले परियोजनाबाट पछाडि नफर्किने बताए । मेयर बन्नु अघि भने उनी त्यस परियोजनाको विपक्षमा थिए ।“अब हामी यो रोडको डिजाइनअनुसारका सबै संरचना निर्माण गरेर चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौं,” मेयर कोइरालाले भने, “त्यसका लागि ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिइसकेका छौं ।” मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीयसहितको टोलीले तीनपटक अनुगमन समेत गरिसकेको छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । बिहीबार पनि प्रमुख प्रशासकीय अधिकृत कोइराला र प्राविधिकसहितको टोलीले निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको थियो ।
जिल्ला प्रशासन अगाडिको पार्किङ समस्या हट्ने
यसैबीच, महानगरले जिल्ला प्रशाासन मोरङ अगाडि देखिँदै आएको पार्किङ समस्या समाधान गर्ने भएको छ । त्यसका लागि प्रशासनको गेट दक्षिण तथा शहीद रंगशाला उत्तरमा रहेको खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न महानगरले सफाई सुरु गरेको छ । सो ठाउँमा मोटरसाइकल र साइकल पार्किङ गरिनेछ । जसबाट प्रशासन चोकसहित आसपासको क्षेत्रमा देखिँदै आएको पार्किङ समस्या समाधान हुने महानगरको विश्वास छ । जिल्ला प्रशासनमा आउने सेवाग्राहीले सवारी पार्किङ गर्ने स्थान नहुँदा समस्या झेल्दै आएका थिए ।