विराटनगर । ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडी सम्मानित भएका छन् ।
प्रदेश १ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा बुधवार विराटनगरमा एक कार्यक्रम आयोजना गरी पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीका साथै वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट जिल्ला र उत्कृष्ट डोजाङलाई सम्मान गरिएको थियो । वर्षको उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी कुसुम राजवंशी, पुरुषतर्फ झापाका रोशन मगर तथा उत्कृष्ट प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भए ।
त्यस्तै उत्कृष्ट जिल्लातर्फ आइटिएफ तेक्वान्दो संघ मोरङ र डोजाङतर्फ भोजपुरको दिङ्ला आइटिएफ तेक्वान्दो डोजाङ प्रदेशकै उत्कृष्ट घोषित भए । ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता मोरङकी कुसुम राजवंशी, झापाका रोशन मगर र वीरबहादुर तामाङ सम्मानित भए । रजत पदक विजेता मोरङकी इन्दिरा थापा र भोजपुरकी सजिना तामाङ तथा कांस्य पदक विजेता मोरङका प्रथम कार्की, नितेश खवास, सुनसरीका हिराधन राई, भोजपुरका दिलन राई र सुदीप तामाङ सम्मानित भए ।
त्यसैगरी, प्रशिक्षकहरू अभय राई, केशव कार्की र टिम व्यवस्थापक केशव भट्टराईलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्ले र आइटिएफ प्रदेश १ का अध्यक्ष प्रवीण कार्कीलगायतले सम्मान पत्र तथा नगद प्रदान गरे ।
खेलाडीहरूलाई सम्मान गर्दै सदस्यसचिव वाग्लेले अहिले खेलकुद क्षेत्र मृत अवस्थामा रहेको बताए । यस्तो अवस्थामा कसरी खेलकुदलाई जगाउन सकिन्छ भन्नेमा कसैको पनि ध्यान नगएको उनले बताए । ‘यो अवस्थामा संस्था चलाउन निकै गाह्रो भएको छ,’ उनले भने, ‘राजनैतिक गर्ने नेताहरूले खेलकुद नबुझ्दा खेल र खेलाडीको स्तर वृद्धि गर्न सकेका छैन । चाहिने बजेट माग गरे पनि त्यसलाई कटौती गरेर पठाए पनि मन्त्रीहरूले आ–आफ्नो हिसाबले खर्च गर्दा झन् समस्या आएको छ ।’