विराटनगर । प्रदेश १ प्रदेशसभामा समानुपातिक तर्फको नामावली पनि सिफारिस भएपछि नेपाली काँग्रेसभित्र अब संसदीय दलको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ ।
नेपाली काँग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरेर २९ जना सांसद पाएको छ । २९ जनामध्ये बहुमत जुटाउने सांसद नै संसदीय दलको नेता बन्ने र दलका नेता नै मुख्यमन्त्री बन्ने सम्भावना रहेपछि प्रतिस्पर्धा तीब्र बनेको हो । नेपाली काँग्रेसका प्रदेश १ सभापति झापाका उद्धब थापा, केन्द्रीय सदस्य मोरङका अमृत अर्याल, उदयपुरका नेता हिमाल कार्की, मोरङकै काँग्रेस नेता केदार कार्की र भीम पराजुली संसदीय दलको नेता बन्ने दौडमा छन् ।
प्रदेशसभाको अघिल्लो कार्यकालमा २१ जना सांसदको प्रतिनिधित्व गरेको काँग्रेसमा त्यसबेला कोइराला पक्षबाट राजिव कोइराला दलको नेता बनेका थिए । कोइरालालाई दलको नेताबाट हटाएर संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षका हिमाल कार्कीलगायतले दलको नेता बन्ने आकांक्षा राखेपनि संख्यामा कमजोर रहेको कारण सफल हुन सकेको थिएन ।
यसपटकको प्रदेशसभामा भने देउवा पक्षका सांसदहरुको संख्या बढी देखिएको छ । जसको कारण संस्थापन पक्षमै तीन जना थापा, अर्याल र हिमाल कार्कीले दलको नेता बन्ने चाहना राखेका छन् । हिमाल कार्की हालका प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्री पनि हुन् । उता, कोइराला पक्षबाट दलको नेता बन्ने दौडमा रहेका केदार कार्की हालका प्रदेश १ को आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् । मन्त्री हुनुअगाडि उनी नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक थिए भने उदयपुरका हिमाल कार्की भने संसदीय दलका उपनेता थिए । यस्तै पार्टी नेता कृष्ण सिटौला पक्षका नेता भीम पराजुली यसअघि विराटनगर महानगरपालिकाका प्रमुख थिए ।
कसको अवस्था कस्तो ?
प्रदेश १ मा प्रत्यक्षमा जितेका र समानुपातिकतर्फ काँग्रेसले सिफारिस गरेको विवरण अहिलेकै कायम रहेमा संस्थापन पक्ष, संस्थापन इतर अर्थात् कोइराला पक्ष र नेता कृष्ण सिटौला पक्षमा सांसदहरु विभाजित छन् । केही सांसदले तटस्थ देखिएपनि आ–आफ्नो क्याम्प क्लियर गरिसकेको काँग्रेस स्रोतको भनाइ छ ।
स्रोतले दिएको जानकारी अनुसार संस्थापन पक्षमा अमृत अर्याल, हिमाल कार्की, सदानन्द मण्डल, इसाइल मन्सुरी, खगेनसिंह हाङ्गाम, प्रदिपकुमार सुनुवार, गोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र ममता मगर तामाङ गरी १२ जना रहेका छन् । यस्तै संस्थापन इतर अर्थात् कोइराला क्याम्पमा केदार कार्की, शमशेर राई, रामकुमार खत्री, इन्दीरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल गरी ८ जना रहेका छन् । उता, सिटौला क्याम्पमा भने उद्धब थापा, भीम पराजुली, भूमिप्रसाद राजवंशी, भुपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ जना रहेका छन् ।
हेर्नुहोस् को सांसद कसको पक्षमा ?
अर्याललाई बनाउन शेखरको भित्री चलखेल
यसैबीच शेरबहादुर देउवासँगको भागबण्डामा सहमति भएको खण्डमा मोरङका अमृत अर्याललाई संसदीय दलको नता बनाउन शेखर कोइरालाले समर्थन गर्नसक्ने काँग्रेसका एक नेता बताउँछन् ।
देउवा पक्षकै भएपनि अर्याललाई देउवा पक्षका मोरङका नेताहरु रमेशजङ्ग रायमाझी र डिला संग्रौलाहरुले अवरोध गरिरहेका छन् । उनीहरुको जोड भने प्रदेश १ का सभापति समेत रहेका उद्धब थापालाई बनाउनु पर्ने लविङमा छन् । कोइरालाले नै आफूलाई पार्टी राजनीतिमा सहयोग गर्ने शर्तमा अर्याललाई मुख्यमन्त्री बनाउने तयारी गरेको बताइन्छ । उता, सिटौला पक्षका थापालाई भने सिटौलाले भन्दा देउवा पक्षका नेताहरुले उकासिरहेका छन् ।
हिमाल कार्कीलाई भने अहिले मन्त्री नै बन्ने शर्तमा रोक्न देउवा पक्ष लागेको छ । यस्तै भीम पराजुलीलाई पनि मन्त्री बनाउने शर्तमा मनाउन सकिने सो पक्षको विश्लेषण छ । यद्यपि कार्कीले भने आफू कुनै पनि हालतमा दलको नेताबाट ब्याक हुन नसक्ने बताएका छन् ।
उता, कोइराला पक्षको खरो नेताको रुपमा विगत ५ वर्ष संसदमा भूमिका खेलेका केदार कार्कीलाई भने दलको नता बताउन उनै शेखर कोइरालाले उत्ति चासो नदिएको बताइएको छ । निर्वाचनमा टिकट दिने शर्तमा पनि कार्कीप्रति अनुदार जस्तै देखिएका कोइरालाले निर्वाचन जिताउनका लागि पनि उनलाई खासै सहयोग नगरेको कार्की निकट काँग्रेसीहरु बताउँछन् । यद्यपि अहिले देखिएको माथापच्चिसी केन्द्रीय सरकार गठन र पार्टीभित्रको राजनीतिक समीकरण फेरबदल भएसँगै प्रदेशको संसदीय दलको नेता पनि सोही अनुसार हुनसक्ने कतिपय बताउँछन् ।