विराटनगर । लोपोन्मुख जातिको रूपमा सूचिकृत तराईमा बसोबास गर्ने झाँगड जातिको प्रदेशसभामा प्रतिनिधित्व हुने भएको छ ।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक कोटाबाट झापाकी बन्दना झाँगड सांसद बन्ने भएकी हुन् ।
माओवादी केन्द्रबाट समानुपातिक कोटामा झाँगड सांसद बन्न लागेकी हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने झाँगर सबैभन्दा कम उमेरकी सांसदसमेत बन्नेछन् । उनी ३६ वर्षकी हुन् । माओवादीबाट समानुपातिक कोटामा दलितको प्रतिनिधित्व गर्दै प्रदेशसभामा प्रवेश गर्ने सुनसरीकी सपना दर्जी पनि ३६ वर्षकै हुन् । पुरुषतर्फ माओवादीकै जीवन आचार्य पनि ३६ वर्षमै मोरङ क्षेत्र नं. ६ (२) बाट प्रदेशसभामा निर्वाचित भएका छन् ।
सामान्य परिवारमा हुर्केकी बन्दनाको बाल्यकाल सामान्य बित्यो । उनी सानो छँदा समुदायले गर्दै आएको काम माछा, घुँगी र गँगटा खोज्ने तथा गुइँठा बनाउने घरायसी काम गर्थिन् । ७ वर्षको उमेरमा आमाको निधन भएपछि परिवार समस्यामा पर्यो । छोराछोरीले दुःख पाउलान् भने बाबु कुल्वा झागरले अर्काे विवाह गरेनन् । तीन दाजु र एक दिदीसहित छ जनाको परिवार बाबुले नै सम्हाल्नुपर्ने बाध्यता थियो ।
जनयुद्धको बेला उनको घर माओवादीको सेल्टर थियो । उनकै घरबाट झापामा माओवादी आन्दोलन तथा संगठन निर्माणको योजना बन्थ्यो । एकान्तमा उनीहरूको घर भएकाले माओवादीका सहज थियो । धेरै बैठकहरु उनकै घरमा बस्थे ।
अखिल क्रान्तिकारीका झापा अध्यक्ष रहेका छिमेकी रमेश सुवेदीलाई तत्कालीन साही नेपाली सेनाले हत्या गरेपछि बन्दनाको घर पनि निशानामा पर्यो । माओवादीलाई सहयोग गरेको आरोमपा सेनाले दुःख दिन थालेपछि २०६० सालबाट १७ वर्षको उमेरमा उनी पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा सामेल भइन् । बन्दना अनिशा नामले चिनिन थालिन् ।
२०४३ साल असार १५ गते झापाको तोपगाछी–१ मा जन्मिएकी बन्दनाले प्रारम्भिक शिक्षा नगेन्द्र माध्यमिक विद्यालयबाट लिएकी हुन् । विद्यालयमै अनेरास्ववियु (क्रान्तिकारी)को इकाई कमिटीमा आबद्ध भएकी कक्षा ९ मा पढ्दापढ्दै पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा सामेल भइन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष र केन्द्रीय सदस्य हुँदै अहिले पार्टीको प्रदेश कमिटि सदस्य छन् । उनले पार्टीका विभिन्न जिम्मेवारी पनि पुरा गरिसकेकी छन् ।
जनयुद्धको समसयमा महिला विभागमा बसेर संगठन निर्माणको काममा लागेकी अनिशा माईपूर्वका सबै क्षेत्रमा भूमिगत समयमै काम गर्न पुगिन् । संगठनको काममा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलाम पनि पुगिन् । महिला संगठनको विशेष अभियानका क्रममा इलाम गएका जितपुरमा बेला सरकारी सुरक्षा टोलीले आक्रमण गरेको घटना उनको मनमा अहिले पनि ताजा छ । ‘हामी खाना खान बसेका थियौं, सेनाले आक्रमण गर्यो’ उनले भनिन्, ‘धेरै साथीहरु घाइते हुनुभयो, केही पक्राउ पनि पर्नुभयो । तरm हामी बाँच्यौं ।’ भाग्ने क्रममा उनीसहित केही लडेर घाइते भएका थिए ।
बन्दनाले झापाका सबै समुदायका महिलाको स्थितिको अध्ययन गर्ने मौका पाएकी छन् । ‘आदिबासी समुदायमा शिक्षा र चेतनाको अभाव छ, विस्तारै शिक्षाको पहुँच विस्तार गर्नुपर्ने स्थिति छ’ उनले भनिन्, ‘राज्यको पहलबाट मात्रै यी समस्याको समाधान निस्किन सक्छ, त्यसमा आफ्नो भूमिका हुनेछ ।’
यो समुदायको जनसंख्या नेपालमा करिब ४० हजार हाराहारी छ । यो समुदाय आर्थिक र शैक्षिक रुपमा पछाडि छ । प्रदेशसभामार्फत आफ्नो समुदायको अवस्था सुधार्न आफूले भूमिका खेल्ने बन्दनाले बताएकी छन् । ‘शिक्षाको उज्यालो घामबाट बञ्चित भएकाहरूलाई निःशुल्क शिक्षामा जोड दिन्छु’ उनले भनिन् ।
२०७० सालमा प्रतिनिधिसभा र २०७४ मा प्रदेशसभामा बन्दसुचीमा नाम परेपनि उनले सांसद बन्ने अवसर पाएकी थिएनन् । यो पटक पार्टीले न्याय गरेको छ ।
नेपालको आदिवासी जनजातिभित्र पर्ने उरावलाई झाँगड पनि भनिन्छ । यिनीहरूको बस्ती झापादेखि पर्सासम्म भएपनि मुख्य बसोबास पूर्वमै छ । उनीहरुको मुख्य व्यवसाय कृषि, मजदुरी, पशुपालन हो । उउनीहरु हस्तकलाका सामग्री ढाकी, पिर्का, गुन्द्री आदि पनि बुन्ने गर्दछन् ।
झाँगड समुदायबाट सुनसरीका शिवनारायण उराव यसअघि संविधानसभा सदस्य भएका थिए ।