चुनावी चटारोले यसपटक धान थन्क्याउन धमाधममा रहेका किसानको मुद्दा ओझेलमा परेको छ । केही अघिसम्म धान काटिरहेका किसानको खेतखेतै पुग्ने उम्मेद्वारका कारण किसान समाचारमा आए । तर, उनीहरुले अब धान बिक्री गर्ने बेलामा लागत मूल्य पनि नपाउने समस्या सुरु भएको छ । नेपालमा बहुसंख्यक किसानको आम्दानीको मुख्य स्रोत धान नै हो । धान बिक्री गरेर अन्य दैनिक आवश्यकता टार्नु पर्ने किसान धेरै छन् । यद्यपि धानको मुख्य सिजनमा न्यूनतम मूल्य नपाउने किसानको समस्याले बर्सेनि दुःख दिने गरेको छ । यो अवस्था राज्यले यसपटक दोहोरिन दिनु हुँदैन ।
अबको केही साताभित्र किसानले धान थन्क्याइ सक्नेछन् । सरकारले कहिलेकाँही न्यूनतम समर्थन मूल्य तोक्दै पनि आएको छ । यसअघि घनश्याम भुसाल कृषिमन्त्री हुँदा बेलैमा न्यूनतम मूल्य तोकिएको थियो । तर, सरकारी अनुगमनको अभावमा व्यापारीले मनपरी गरिरहे । संसारमा सबै उत्पादनको मूल्य उत्पादकले तोक्छन् । नेपालका किसान मात्रै यति पीडित छन् कि उनीहरुले व्यापारीले बोलेको भरमा आफ्नो उत्पादन बेच्नुपर्छ । न्यूनतम समर्थन मूल्यको कार्यान्वयनमा ध्यान नदिँदाको परिणाम हो यो ।
किसानले धान बेच्ने बेला मात्रै होइन, रोप्ने र गोड्ने बेलामा मल नपाउने समस्या उस्तै छ । हाम्रो सरकारले विभिन्न बालीहरूका लागि आवश्यक आधारभूत पोषक तत्वका रुपमा रहेको नाइट्रोजन, फोस्फोरस र पोटास तत्व उपलब्ध गराउने रासायनिक मलहरूमा लागत सहभागिताका आधारमा किसानहरूलाई अनुदान उपलब्ध गराउने नीति लिँदै आएको छ । यसै नीति अनुसार सरकारले युरिया, डिएपी र एमओपी मलहरू अनुदानित सुलभ मूल्यमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ । अनुदानमा रासायनिक मल उपलब्ध गराउनको लागि बालीमा मलको महत्व र सरकारको आर्थिक क्षमता समेतका आधारमा वार्षिक रुपमा बजेट वक्तव्य मार्फत निश्चित रकम विनियोजन गर्ने गरेको छ । तर, सरकारले यस्तो कार्यक्रम तय गरे पनि नेपाली किसानले न समयमा मल पाउँछन् न त भनेका बेलामा बिऊविजनकै सहजै उपलब्धता हुन्छ । यसरी सिजनमा किसानले पिरोलिनुपर्ने अवस्थाको अन्त्य कसरी हुन्छ ? यो गम्भीर चासोको विषय हो ।
हरेक वर्ष जब विश्व बजारमा मलको मूल्यमा उतारचढाव आउँछ, नेपालमा मल आपूर्तिमा असहजता उत्पन्न भइहाल्छ । मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारी तहबाट जिम्मा लिए पनि उनीहरुले सहज आपूर्ति गराउन कहिल्यै सकेका छैनन् । मल अभावको यही लामो सिलसिलाले किसानलाई पिरोलेको मात्रै छैन, धान तथा अन्य मुख्य अन्न बालीहरुको उत्पादनमा पनि प्रभाव परिरहेको छ । अब रोप्ने र गोड्ने बेलाको सकस यसपटकलाई सकिएको छ । तर, किसान धान बेच्ने तयारीमा छन् । कतिपयले बिक्री पनि गरिसकेका छन् । यो बेलामा धान बजारमा सरकारको कसिलो नजर पुग्नुपर्छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!