विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदेश २ बाट आउने सवारी साधन तथा व्यक्तिहरुलाई पूर्णतया रोक लगाएको छ ।
जसको लागी कोशी व्यारेज तथा सुनसरीकै चतरा पुल र उदयपुरको रामपुर ठोक्शिलामा समेत चेक पोष्ट राखेर २४ सै घण्टा चेकिङको व्यवस्था मिलाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले आज जारी प्रेस नोटमा उल्लेख छ ।
कोरोना माहामारी रोगको संक्रमण नफैलियोस भनेर प्रहरीले प्रदेशका नेपाल–भारत सिमा क्षेत्रमा हुने आवागमन नियन्त्रण गर्न, लकडाउनको समयमा हुन सक्ने अपराधिक गतिविधिहरु नियन्त्रण गर्न तथा अवैध चोरी निकाशी समेत नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको जनाएको छ । प्रदेश १ प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत तथा प्रवक्ता डिएसपी सुमन कुमार तिम्सिनाले झापा, मोरङ र सुनसरी जिल्लाका सिमाना ईलाकाहरुलाई विभिन्न सेक्टरमा बिभाजन गरी सिनियर प्रहरी अधिकृतलाई थप जनशक्ति सहित खटाईएको बताउनु भयो ।
तिम्सिनाका अनुसार सिमावर्ती क्षेत्र बोर्डर लक गर्नका लागी अस्थायी प्रहरी पोष्ट थप गरी झापा जिल्लाको लागी १ सय ३५ जना, मोरङ जिल्लाको लागी ८० जना र सुनसरी जिल्लाको लागी १ ससय १२ जना थप जनशक्ति खटाइएको छ ।
यस्तै लकडाउन कार्यान्वयनको अवस्थालगायत प्रहरीहरुको काम कारवाहीलाई अनुगमन गर्नको लागी सशस्त्र प्रहरी गण रानी, दंगा नियन्त्रण प्रहरी गण दुहवी र १ नं. प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकको कमाण्डमा अनुगमन टोली परिचालित गरी नियमित अनुगमनको व्यवस्था पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी प्रदेश १ मातहत रहेका २ सय २४ वटा क्वारेन्टाईन सेन्टरमा भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको र दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिलाई सहज र व्यवस्थित गरिएको पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।