विराटनगर । निर्वाचन आयोग आफैले सुनसरी–४ मा हुँदै नभएको ६०६ मत एमाले उम्मेद्वारको भागमा जोडेको प्रमाणित भएको छ । शनिबार दिउँसोदेखि मत गणना रोकिनुको मुख्य कारण नै यही बनेको छ ।
आइतबार सुनसरी–४ मा पुनः मतगणना गर्न माग गर्दै सञ्चार मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन् । शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरू गर्ने भनिए पनिसर्वदलीय बैठकमा कुनै सहमति जुट्न सकेन । लगत्तै कार्कीले आयोगमा पुनः गणनाको माग गर्दै आयोगमा निवेदन दिएका हुन् । सञ्चारमन्त्री कार्कीका प्रतिनिधि रोशन खड्काले कार्कीका तर्फबाट आयोगमा निवेदन दिएका हुन् ।
सुनसरी–४ मा मतगणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो । निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत आयोगले सार्वजनिक गर्दा १२१२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।
‘निर्वाचन आयोगले सार्वजनिक रुपमा ६०६ मत थपिनु हाम्रो गल्ती भयो भन्नुले आयोगको कमजोरी देखिएको छ,’ कांग्रेस नेता अयुव अन्सारीले भने, ‘त्यसैले पुनः मतगणना हाम्रो न्यूनमत माग हो ।’ कांग्रेसको मागमा एमालेले भने असहमति प्रकट गरेको छ । थपिएको ६०६ मत घटाएर मत गणना सुचारू गर्नुपर्ने उसको अडान छ ।
यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरू गर्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसका कार्कीले त्यो प्रस्ताव आइतबार रातिसम्म मानेका छैनन् । ‘सुरूदेखि नै एमाले उम्मेदवारको मतमा यसरी नै मत थपिएको आशंका भयो,’ सर्वदलीय बैठकमा कार्कीले भने, ‘त्यसैले यहाँ मतगणना सुरूदेखि नै हुनुपर्छ ।’ मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ र एमालेका कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।