श्रीमन्त भट्टराई
‘गुलाबको बोटमा हुने काँडाले फुलको सुन्दरतालाई रोक्छ ?’ बिम्बात्मक प्रश्नबाट सुरु गरिएको यो लेखाई विशुद्ध राजनीतिमा केन्द्रित छ । सपना सहितको राजनीति । योजना सहितको राजनीति । भनाई र व्यवहारमा एकरुपता हुने राजनीति । पारगामी परिवर्तनको सोच, विज्ञता, कर्तव्य र अनुशासन मिसिएको राजनीति । यो हाम्रो आवश्यकता हो । आजको आवश्यकता ।
किनकी, राजनीति परिवर्तनको संवाहक हो । परिवर्तनको वाहक हो । संवाहनको महत्वपूर्ण माध्यम हो । सरल भाषामा भन्दा राजनीतिले हरेक तत्वमा ताप र चापको प्रभाव छर्दै सकारात्मक रुपान्तरणमा भूमिका खेल्छ । खेल्नुपर्छ ।
तर, हामीले देखिरहेको राजनीति त्यस्तो छ त ?
राजनीतिको स्वाद स्मरण गरौं न । राजनीतिज्ञहरु रहरले राजनीतिमा लागे । सपनाले होइन । व्यक्तिगत बाध्यता र आवश्यकतालाई सेवाको रटान लगाए । समाजको आवश्यकताले होइन । त्यसो त, राजनीति आफैंमा सेवाको मार्ग छोडेर व्यवसायको मार्गमा प्रवेश गरिसक्यो । राजनीतिज्ञहरु विकृति भए । व्यक्तिगत स्वार्थले जित्यो । सामुहिक स्वार्थ, सामुहिक हित र जनहित त आजभोली गर्भमै तुहिन थाल्यो ।
धेरै जनताले भन्न थाले, ‘देशबाट राजा फालिए, नयाँ राजाको जन्म भयो ।’ राजनीतिज्ञको व्यवहार र कार्यशैलीले त्यस्तै पुष्टि गर्दैछ । जति आधुनिकता, त्यति विकृत । जति आवश्यकता त्यति पाखण्डी । राजनीति त पारगामी हुनुपर्ने । बन्यो सनातन ।
संख्यामा धेरै हुने काँडाले फुलको सुन्दरतालाई निचोर्छ सक्छ कि सक्दैन । म बेलाबेला सोच्छु । खुम्च्याउन सक्छ कि सक्दैन । आखिर, काँडाले पीडा दिन्छ । फुलले मिठास, माधुर्य र लावण्य । गुलाबको फुलमा हुने सुगन्ध र आकर्षण राजनीतिज्ञमा भइदिने हो भने जनताले दुई चार काँडाको वास्ता गर्थे ? तर, बहुमत काँडाको भयो । सुगन्ध दिने फुलहरु फुलेनन् । ठ्याक्कै जड यहाँबाटै सुरुहुन्छ । हामी रटान लगाउँछौं, ‘नेता खराब भए ।’ तर, परिवर्तनको सपना देख्दैनौं । हिम्मत गर्दैनौं । परिवर्तनको साथ दिनेलाई हौसला दिँदैनौं ।
बिम्बलाई फेरी जोड्न चाहें, गुलाबको बोटमा हुने काँडाले फुलको सुन्दरतालाई रोक्दैन । किमार्थ रोक्दैन । गलत त हामी हो । हामी चोरलाई साधु भन्छौं । अनि साधुलाई चोर । त्यो पनि राजनीतिक फाइदाको लागि । फुलको अस्तित्वमा नै आउने नसक्ने प्रजातिको बिरुवालाई हामी गुलाबको दर्जा दिन्छौं । व्यक्तिगत स्वार्थको लागि । पटकपटकको चुनाबले त्यस्तै नतिजा दिँदैछ । यसपटक पनि ।
संसारमा हरेक चिजको आ–आफ्नै अस्तित्व र विशेषता हुन्छ । सिस्नोको आफ्नै विशेषता हुन्छ, गुलाबको आफ्नै । हामीले राजनीतिमा सिस्नोको बोटलाई गुलाबको बोट भनिदियौं । अब भन्नुस्, राजनीति कसरी सङ्लो हुन्छ ? कसरी निर्मल र निष्पाप हुन्छ ? विकल्प छान्न हामीले अझै जानेनौं । सत्यलाई अझै हामीले चिनेनौं । परिवर्तनलाई बुझेनौं । रुपान्तरणका योजनाहरु र संघर्षका कथाहरु हामीलाई फिक्का लागे । अनि, विकल्प विकल्प भन्दै जप्न थाल्यौं । तर, विकल्पले पनि विकल्प दिन सकेन । सक्दैन पनि । ढुक्क हुनुस्, सक्दैन ।
राजनीतिको नाममा जे भइरहेको छ, अज्ञानताले भइरहेको छ । हामीलाई त्यही १८ घण्टाको लोडसेडिङ प्यारो लाग्छ अझै, राजनीतिका नाममा । त्यही भ्रष्टाचार र कुसंस्कार प्यारो लाग्छ, राजनीतिका नाममा । विकासका सपनाहरु, जनतामा आएको परिवर्तनहरुको वास्ता छैन । अधिकार, समानता र समृद्धिको ख्याल छैन । किनभने, हामी जन्मदै दलको धब्बा लागेर जन्मियौं । फलानोलाई भोट हाल्नै पर्ने । आफ्नोलाई भोट हाल्नैपर्ने । हाम्रोलाई भोट हाल्नुपर्ने ।
उताका कुनामा राम्रो, असल, सत्य र क्षमता भएको व्यक्ति एक्लै चिच्याइरहेको छ । हामी यताको कुनामा बसेर ढिस्कोलाई भोट हाल्दैछौं । किन भने त्यो ढिस्को हाम्रो हो नि त ! ढिस्कोले कमिसन मिलाउँछ, सेटिङ गराउँछ, सबै आफन्त र कार्यकताको व्यवस्थापन गर्छ । उता क्षमता भएकोले समृद्धिको खाका कोर्छ । जनताको हित सोच्छ । आधारभूत आवश्यकताहरुलाई ध्यान दिन्छ । आत्मनिर्भर बन्न प्रेरित गर्छ । उत्पादन र उद्यमशीलताको विकास गर्छ । तर, कमिसन दिँदैन । सेटिङ मिल्दैन । कार्यकर्ताको भर्ती गर्दैन । अनि त्यस्तालाई पनि भोट ? यो हाम्रो सोच हो । तपाईंको । अनि, मेरो ।
केही समय अघि स्थानीय तहको निर्वाचन भयो । जनप्रतिनिधिहरु आउनुभयो । अब उहाँहरु रातो कार्पेटमा हिँड्नुहुन्छ । कार्यकाल सक्नुहुन्छ । नाम लेख्नुहुन्छ । सात पुस्तालाई पुग्ने कमाउनुहुन्छ । अनि जानुहुन्छ । अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकियो । अहिले नेताज्यूहरु विजयी उत्सवमा व्यस्त हुनुहुन्छ । अब धेरैका सपनाका बेलुनहरु फुलिसके । कतिलाई कता सेटिङ मिलाउने, कता जागीर लगाउने, कहाँबाट कुन कार्यक्रम पारेर कति कमिसन खाने अनि कति बाँढ्ने !
अनि नारा चैं ‘सर्वजन हिताय’ र ‘सर्वजन सुखाय’कै लगाउने हो । सेवाको ढोंग गर्ने हो । धर्मको नाटक गर्ने हो । जनताको हित के मा हुन्छ कसैलाई हेक्का छैन । विकास के हो ? रुपान्तरण के हो ? परिवर्तन के हो ? मत्लब छैन ।
के अब पनि बाटो बन्नु विकास हो ? पुल बन्नु विकास हो ? नाला बन्नु विकास हो ? निश्चित कार्यकतालाई पोस्नु विकास हो ? झिल्के र चकलेटी कार्यक्रम ल्याएर भ्रम छर्न खोज्नु विकास हो ? उद्घाटन विमोचनमा उपस्थित हुनु अनि मलामी जानु विकास हो ? के हो त विकासको परिभाषा ? समाज र जनताका आवश्यकताहरु के हुन् ? त्यता ध्यान छैन ।
समाजमा राजनीतिज्ञको आवश्यकता जनताको सेवाको लागि हो । जनताको सेवा उनीहरुको टाउको मालिस गरेर हुने होइन । राजनीतिज्ञले हरेकको घरमा दाल चामल दिने पनि होइनन् । राजनीतिले हरेक तत्वमा ताप र चापको प्रभाव पार्छ भन्नुको कारण हरेक ठाउँमा राजनीति जोडिन्छ । र, राजनीतिज्ञले हरेक ठाउँमा सकारात्मक उर्जा निकाल्ने प्रयास र प्रयत्न गर्नुपर्छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत एजेण्डामा राजनीतिज्ञले खेल्न सक्नुपर्छ । देखाउनका लागि होइन । डकुमेन्टमा होइन । यथार्थमा । उत्पादन र उद्यमशीलताको ज्ञान राजनीतिज्ञलाई हुनुपर्छ । पाँच वर्षमा मैले कति युवालाई सक्षम र सबल बनाए भन्ने हेक्का कुनै राजनीतिज्ञले गर्छन् ? उनीहरुको समिक्षामा कति कमाई भयो भन्ने मात्र हुन्छ । कति आफन्तलाई जागीर लगाइयो भन्ने लिखत हुन्छ । तर, जनताका समस्याहरुको चिन्ता नै हुँदैन ।
अब नेता र जनताले सुधारिनुपर्ने बेला आएको छ । यथार्थमै आएको छ । घण्टी त्यसै बजेको होइन यसपटक । यो घण्टी १० बजेको हुन सक्छ । ४ बजेको घण्टी नेताहरुलाई नलागोस्, मेरो कामना छ । अब राजनीतिलाई पारगामी बनाउन लागौं । जीतको उत्सव होइन, जनताको काममा केन्द्रित बनौं । तपाईंले आफ्नो क्षेत्रमा विजयी जुलुस मनाउन लाग्ने खर्चले त्यही क्षेत्रको ४ ओटा सामुदायिक विद्यालयको बालकक्षा सुधारिन्छ । पाँचओटा विद्यालयमा खानेपानी व्यवस्थापनमा पुग्छ । ख्याल गरौं ।