बेलबारीकै तीन जना ‘माननीय’

विराटनगर । मोरङको ३ नम्बर क्षेत्रमा ४ पालिका छन्, ३ नगरपालिका र १ गाउँपालिका ।

सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका मोरङको ३ नम्बर क्षेत्रमा पर्छन् । २०७९ सालको आम निर्वाचनमा ४ पालिकामध्ये बेलबारीले ३ जना सांसद पाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बेलबारीकै ३ जना निर्वाचित भएका छन् ।

प्रतिनिधि सभामा निर्वाचित भएका सुनिलकुमार शर्माको घर बेलबारी–४ मा छ । उनी एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका छन् । ढकालले सुन्दरहरैचामा घर बनाइरहेका छन् ।

२०७४ सालको निर्वाचनमा पर्यटक उम्मेदवारको आरोप लागेपछि यस पटकको निर्वाचनमा उम्मेदवार बन्दा ढकालले घर बनाएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी बन्दा ढकालले २५ हजार ८९५ मत ल्याएका थिए । रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् ।

प्रदेशतर्फ ३९१० मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् भने एमालेका दिलीप राईले १४ हजार ८१७ मत मात्रै ल्याएका छन् ।

लिम्बुको घर बेलबारी–१० मा पर्छ भने राईको घर पथरीशनश्चरे हो । राई पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर हुन् ।

मोरङ ३९२० मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । सुवेदीले १७ हजार ७२८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गरेका छन् ।

सुवेदीको घर बेलबारी–३ मा छ । उनी बेलबारीका पूर्व मेयर समेत हुन् । समानुपातिकको मतगणना जारी रहेको छ । प्रदेशको समानुपातिकमा माओवादी केन्द्रबाट गीता तिम्सिनाको नाम बन्दसूचीमा छ । उनको घर पनि बेलबारी हो ।

बन्दसूचीमा महिलातर्फ उनको नाम पहिलो नम्बरमा रहेको छ । उनी पनि सांसद भए बेलबारीले ४ जना सांसद पाउनेछ ।

आइतबार, ११ मंसिर, २०७९, बिहानको १०:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर