विराटगनर । विराटनगरको कोशी अस्पतालमा आजबाट कोरोना भाइरस परीक्षण सुरु हुने भएको छ । अस्पतालको कोरोना विशेष उपचार युनिटका लागि नयाँ भिसिआर मेसिन आएपछि विराटनगरमै परीक्षण गर्ने तयारी भएको हो ।
संघीय सरकारले पठाएको नयाँ भिसिआर मेसिनले दैनिक ९६ वटा परीक्षण गर्नसक्छ । मेसिनसँगै ६ सय वटा परीक्षण किट पनि ल्याइएको छ । नयाँ मेसिन स्थापना र परीक्षणका क्रममा ५० वटाजति खर्च हुने र बाँकी ५ सय ५० वटा किटले तत्काल परीक्षणको काम अघि बढाउन सकिने बताइएको छ ।
काठमाण्डौबाट बिहीबार उपकरण, किट र स्वीस सरकारबाट सहयोगमा प्राप्त भएको ५० थान पिपिई प्रदेशमा आइपुगेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभएको छ । उहाँले कोशी अस्पतालको नयाँ युनिटमा शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिनुभयो ।
बिहीबार परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट किटसहित काठमाडौंको वीर अस्पतालबाट प्रविधि विज्ञसहितको टोली विराटनगर आएकाले आजबाट परीक्षण सुरु गरिने मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो । यसअघि प्रदेश १ र २ का लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण हुने गरेको थियो । त्यहाँ दैनिक १२ जनाको मात्र परीक्षण सम्भव हुन्थ्यो । अब भने द्रुत परीक्षणसमेत गर्न सकिने भएको छ ।
शुक्रबारदेखि प्रदेशका क्वारेन्टाइनहरुमा ‘र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) को माध्यमबाट एकै पटक धेरैजनाको स्वाब परीक्षण गर्ने सरकारको तयारी छ ।
कोशी अस्पतालमा प्राप्त भएको नयाँ भिसिआर मेसिन यस अघि काठमाण्डौको टिचिङ अस्पताल, पोखरा र चितवनमा मात्र थियो । प्रदेश १ मा पनि उक्त मेसिन प्राप्त भएपछि परीक्षण र उपचारमा थप सहज हुने मन्त्री घिमिरेले बताउनुभयो ।