भोजपुर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले गृहजिल्ला भोजपुरको चुनाबी अभियानको क्रममा केहि दिन अगाडि भाषण गरे, ‘सांसद मात्र हुने हैसियतको व्यक्तिलाई निर्वाचन जिताएर पठाउनुको अर्थ छैन, सांसद मात्र भएर विकासको काम गर्न सकिन्न ।’ मन्त्री बन्ने व्यक्तिले निर्वाचन जितेको अवस्थामा मात्र जिल्लामा विकासको लागि बजेट ल्याउनसक्ने उनको भनाइ थियो ।
भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार रहेका राईले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुदन किरातीसँग प्रतिष्पर्धा गर्दैछन् । भोजपुरबासी नागरिकका सुखदुःखका साथीको रुपमा परिचित किरातीसँगको प्रतिष्पर्धा भारी पर्दै जाँदा राईले चुनाबी अभियानमा विवादित अभिव्यक्तिहरु पनि दिइरहेका छन् ।
कोराना महामारीमा पीडितहरुको घर–घरमा चामलको बोरा बोकेर पुग्ने किराती संसद चलेको अवस्थाबाहेक अधिकांश समय जिल्लामै रहेर नागरिकबीच सहकार्य गरिरहेका हुन्छन् । तर, राईले भने किरातीको त्यो कार्यलाई अनावश्यक प्रोपोगाण्डा भन्दै आलोचना गरेपछि किराती समर्थकहरुले ‘ससुराली जाँदा हेलिकप्टर चढेर जाने व्यक्ति’ ले जनताको साथमा रहने किरातीको आलोचना गर्नु स्वभाविक भएको भन्दै जवाफ फर्काइरहेका छन् ।
चुनाबी अभियानको क्रममा पूर्वमुख्यमन्त्री राई व्यक्तिगत गालीगलौजमा उत्रिएपछि सामाजिक सञ्जालमा उनको विरुद्ध पनि किराती समर्थकले ‘जेहाद’ छेडेको देखिन्छ । हेलिकप्टरमा ससुराली गएकोदेखि, आफ्नो नङ् अर्कैबाट कटाएको अनि समुन्द्रको किनारमा मस्ती गरेको फोटो शेयर गर्दै राईमाथि प्रहार भइरहेको छ ।
भोजपुरमा माओवादीका पोलिटब्युरो सदस्य किराती र एमालेका स्थायी समिति सदस्य राईको प्रतिष्पर्धा यो तेस्रो हो । यसअघि २०६४ मा राई किरातीबाट पराजित भएका थिए भने २०७० मा राईले किरातीलाई हराएका थिए । २०७४ मा भने बाम गठबन्धनबाट किराती प्रतिनिधिसभामा निर्वाचित हुँदा राई प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्री बने ।
मंसिर ४ गते हुने निर्वाचनमा किरातीलाई गठबन्धन दल नेपाली कांग्रेस र एकीकृत समाजवादीको साथ छ । राई भने एकल रुपमा चुनाबी मैदानमा उत्रिएका छन् ।
माओवादीका किराती तेस्रो प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिएको बताउँछन् । ‘यो लडाइँ हो, यसमा केही सम्भावना, केही चुनौती हुन्छ,’ उनले भने, ‘हामी २०६४ देखि नै भिडिराखेका छौं । अहिलेको भिडन्त सबैभन्दा सजिलो लागेको छ ।’
गत वैशाखमा सम्पन्न स्थानीय तहमा दलहरुले पाएको वडागत मतका हिसाबले किरातीलाई सहज देखिन्छ । जिल्लामा सत्ता गठबन्धनको मत ४० हजार २६० मत पाएको छ भने नेकपा एमालेको २७ हजार ६५६ मत मात्र छ ।
स्थानीय तहको मत एकातिर छ भने अर्कोतिर किरात राई समुदायका सेलिब्रेटी लेखक कलाकारहरुको साथ उनले पाएका छन् । लेखक राजन मुकारुङ, कलाकार दयाहाङ राई, विल्सनबिक्रम राई, गायक राजेश पायल राईलगायत किराती जिताउने लबिइङमा छन् ।
गठबन्धनको मत र जिल्लामा भोगिरहेको प्रतिकुलताबीच पूर्वमुख्यमन्त्री राईले चर्को र विवादित अभिव्यक्ति दिइरहेका छन् । तर, २०५६ सालदेखि सांसद, संघीय मन्त्री र मुख्यमन्त्री भइसकेकोले मतदाताको धेरै प्रश्नको सामना किरातीभन्दा उनैले गर्नु परिरहेको छ ।
प्रदेशमा दुईतिहाई बहुमतको मुख्यमन्त्री भएर पनि प्रदेशको नामकरण गर्न नसकेको आरोप राईमाथि छ । त्यसमाथि नेताहरुको ईशारामा मात्र चल्ने र निर्णयक्षमता नभएको व्यक्तिको रुपमा उनलाई चित्रित गरिएको छ ।
राईले सांसदले मात्र केहि गर्न नसक्ने भएकोले मन्त्री बन्नेलाई चुनाब जिताउनुपर्ने भन्दै दिएको अभिव्यक्ति जिल्लामा चर्चित छ । गठबन्धन दलका कार्यकर्ताहरुले राईको भनाई सहि भएको भन्दै अब गठबन्धनको सरकार बन्ने निश्चित रहेकोले मन्त्री बन्ने किरातीलाई मतदात गर्नुपर्ने भन्दै मत मागिरेहका छन् ।
भोजपुर बजारका व्यवसायी असिम श्रेष्ठ राईको एकपछि अर्को विवादित अभिव्यक्ति उनैलाई घाँडो भएको बताउँछन् । राईका अभिव्यक्तिले किरातीको पक्षमा माहौल बलियो बन्दै गएको उनको भनाइ छ । अघिल्लो चुनाबमा माओवादीसमेतको साथ पाएको भएपनि यसपटक माओवादी र काँग्रेस मात्र नभएर एमालेबाट विभाजित एकीकृत समाजवादीको पनि साथ पाएकोले किराती बलियो उम्मेदवार रहेको स्थानीयको भनाइ छ ।
‘पूर्वमुख्यमन्त्री राईले मन्त्री हुनेलाई मत मागेछन्’ पौवादुम्माका किशोर राईले भने, ‘उनको भनाईसँग सहमत भएर अब बन्ने गठबन्धनको सरकारमा मन्त्री बन्नेगरि सुदन किरातीलाई भोजपुरबासीले मत हाल्दैछन् ।’ स्थानीय तहको निर्वाचनमा प्राप्त भएको मतभन्दा धेरै मत गठबन्धनका उम्मेदवार किरातीले प्राप्त गर्ने उनले दावी गरे ।
संसदको बैठक समयलाई छाडेर अधिकांश समय जिल्लाकेन्द्रीत हुने सुदनको कार्यशैली धेरैले मन पराएका छन् । कोरोनाकालमा जिल्लाभित्र र भोजपुर जन्मथलो भई काठमाडौ कर्मथलो बनाएर बसेका नागरिकको समस्या समाधानमा सहयोग गरेकोले उनी लोकप्रिय छन् । गाउँघर पुग्दा श्रममा जोडिने र सिमान्त समुदायमा पुग्ने उनको शैली प्रभावशाली छ ।
संघीय सरकारको सञ्चारमन्त्री र प्रदेश १ को मुख्यमन्त्री भईसकेका राईसँग भने काम गरेका योजनाको फेहरिस्त प्रशस्त छ । तर, जनमुखी कामभन्दा कार्यकर्तामुखी योजना ल्याएको आरोप उनलाई छ । उनको भड्किलो जीवनशैली पनि जिल्लामा आलोचित छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित ओख्रेमा जन्मिएर एमालेनिकट अनेरास्ववियुबाट राजनीति सुरु गरेका किराती गोपाल किराती नेतृत्वको खम्वुवान राष्ट्रिय मुक्ति मोर्चाबाट सक्रिय राजनीतिमा आएका हुन् । २०६० मा युद्धरत माओवादीसँग एकीकृत भएपछि माओवादीको सगरमाथा–जनकपुर क्षेत्रीय ब्युरो सदस्य भएका सुदन २३ महिना जेल बसेका थिए ।
जेलमुक्त भएपछि २०६३ मा धनकुटा जिल्लाको सेक्रेटरी भएका उनी किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव हुँदै अध्यक्ष, भोजपुर जिल्ला पार्टीको अध्यक्ष, पार्टीको केन्द्रीय सदस्य, पोलिटव्युरो सदस्य हुँदै हाल भोजपुर जिल्ला इञ्चार्ज छन् ।


1 प्रतिक्रिया
Sudan kirati always best