उम्मेदवार घरदैलोमा, मतदाता खेतमा

उम्मेदवार घरदैलोमा, मतदाता खेतमा

विराटनगर । मोरङको जहदामा गाउँपालिका १ भुटहामा धान पाकेर पहेलपुर भएको छ । कतै पाकेको धान भित्र्याउन किसान लागि परेका छन् । जहदा गाउँपालिका १ का रामदेव चौधरी पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । बुधबार दिउँसो चौधरी बारीमा पाकेको धान काटेर घर लैजादै थिए ।

गाउँका टाठाबाठा चौधरीलाई राजनीतिप्रति चासो छ । तर, कामको चापले सभाहरूमा जान फुर्सद नमिलेको उनले बताए । काम गरेर खाने किसानकहाँ उम्मेदवार नपसेकामा उनको गुनासो छ । ‘भोट त दिम्ला, आफूले सोचेको पार्टीलाई तर उम्मेदवार भोट माग्न मेलापातमा आएका छैनन्,’ उनले भने ।

यसबीचमा त्यो बाटो हुँदै धेरै उम्मेदवारका गाडी गुडे । तर, कुनैले पनि गाडीबाट ओर्लेर हात हल्लाएनन् । ‘उनीहरू यही बाटोमा गाडी चढेर जाँदा–आउँदा हामी यही बाटोको छेउमा काम गरिरहेका छौं, कहिले बाटोमै ढुँगा बोकेका हुन्छौं तर कसैले रोकेर के छ ? कसो छ भनेनन्,’ उनले भने, ‘हामी कार्यक्रम (चुनावी सभा)मा जान नभ्याउनेलाई यहीं भोट मागे हुन्न र ?’ आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गत असोज २३ मा उम्मेदवारी दर्ता गरेपछि नै नेताहरूलाई चुनावी भेटघाट गर्न भ्याइनभ्याइ छ ।

वर्षभरि खाने बाली भित्र्याउन किसानलाई चटारो रहेको जहदा १ का विरेन्द्र दासले बताए । ‘वर्षभरि खाने खेती थन्क्याउने यही बेला हो । उनीहरूको पछि लागेर हिँडेर यहाँ कसले गर्दिन्छ । चुनावपछि सबैको अवस्था थाहा भएकै को । हामी मर्नै लागेर भेट्न गए पनि मुन्टो बटार्दै बाटो लाग्छन ।’

बारीमा सिँचाइको माग गरेको पुस्तौं बित्दासमेत टेरपुच्छर नलगाएका नेताप्रति उनले निराशा प्रकट गरे । ‘बाह्रै महिना सिँचाइ सुविधा हुँदो हो त कति परिवारले तरकारी खेती लगाएरै आम्दानी गर्थे,’ उनले भने, ‘पाँच वर्षमा एकपटक भोट माग्न आउँदा गर्दिन केही भन्दैनन । चुनाव जितेपछि पारा उही हो । अब कसको विश्वास गरौं ? ।’ सिँचाइँ अभावकै कारण कैयौं युवा विदेश पलायन भएको उनले सुनाए । खानीगाउँमा सिँचाइको सुविधा सहज भए कैयौं परिवारले तरकारी र नगदेबालीबाट लाखौं आम्दानी गर्न सक्ने उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्