विराटनगर । उम्मेद्वारी दर्ता गरेलगत्तै सिकिस्त बनेका प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेशसभाका उम्मेद्वार शेखरचन्द्र थापा अझै तङ्ग्रीन सकेका छैनन् ।
हाल उनी विराटनगरस्थित नोबेल अस्पतालको न्यूरो डिलक्स क्याबिनको बेड नम्बर ११ मा लडिरहेका छन् । उनको मुखमा अक्सिजन लगाइएको छ । अक्सिजन बिना उनी सास फेर्न नसक्ने अवस्थामा छन् ।
असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा नै उनी बिरामी थिए । भोलिपल्ट असोज २४ गते उपचारकालागि नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले बताए ।
थापालाई क्याप्सिका निमोनिया भएको पुष्टि भएको छ । अहिले बेडरेस्टको लागि अस्पतालमै राख्नुपर्ने डाक्टरको सुझाव पछि उनलाई ह्याम्स अस्पतालबाट सोमबार नोबेल अस्पताल ल्याइएको हो । उनको निमोनिया भने पूर्ण रुपमा निको भएको कट्वालले बताए । ‘यहाँ भए साथीभाईलाई प्रत्यक्ष भेटघाट गर्न सहज हुन्छ भनेर उहाँकै जोडबलमा ल्याइएको हो,’ कट्वालले भने, ‘अहिले पनि नर्मल अक्सिजन दिइरहनु पर्छ । भेटघाटका लागि मानिसहरु आइरहेका छन् । निर्वाचनको चिन्ताकै कारणले काठमाडौं नबसेर यहाँ आउनु भएको हो । चुनावको विषयमा साथीभाइहरुलाई अपिल गर्नुभएको छ ।’
कट्वालका अनुसार ह्याम्स अस्पतालमा हुँदा थापाले निर्वाचनबारे एकदमै चिन्ता गरेकै कारण यहाँ ल्याइएको हो । कार्यकर्ता र साथीभाइसँग यहाँ भए प्रत्यक्ष भेटघाट हुने उहाँको जिकिर थियो ।
५८ वर्षीय थापाको साथमा उनकी श्रीमती लक्ष्मी कार्की र छोरा सुलभ थापा पनि छन् । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री हुन् । उनलाई सो क्षेत्रमा सादगी र आदर्शवान नेताको रुपमा सर्वसाधरणले लिने गर्दछन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका हुन् ।
प्रत्यक्ष निर्वाचन लडेर चुनाव जित्ने उनको इच्छा थियो । सोही अनुसार यसपटक मोरङ ३ (क)बाट उम्मेद्वारी दिएका थापालाई निमोनियाले ग्रसित बनाएको हो ।
यसअघि सो क्षेत्रबाट काँग्रेसकै सूयर्माराज राई विजयी भएका थिए । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थापालाई यसपटक एमालेका उम्मेद्वार दिलिप राईले चुनौति दिइरहेका छन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!