कमिसनको लोभमा कोसीका बिरामी निजीमा रिफर

राति ९ बजेपछि कोसी अस्पतालको आकस्मिक कक्षमा आएका बिरामी दैनिक २ देखि पाँच जना चर्को शुल्क असुल्ने निजी रेड प्लससहित अन्य अस्पतालमा स्वास्थ्यकर्मीकै मिलेमतोमा पठाउने गरेका छन् ।

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा भर्ना हुनुपर्ने बिरामी स्वास्थ्यकर्मीकै मिलेमतोमा निजीतर्फ लग्ने गरेको पाइएको छ । कोसीको आकिस्मक कक्षमा भर्ना हुन दजर्नौ बिरामीलाई स्वास्थ्यकर्मीकै मिलेमतोमा राति ९ बजेपछि निजी अस्पतालमा रेफर गरिन्छ । स्वास्थ्यकर्मीले नै बिरामीलाई यसरी निजी अस्पतालमा रिफर गर्दा सरकारी अस्पतालमा सुविधा प्राप्त गर्नुपर्ने बिरामी चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

कोसी अस्पतालमा २४ शैय्याको आइसियू १२ बेडमा झारिएको छ । संचालनमा रहेको एचडिसियू वार्ड बन्द छ । अस्पतालका उपकरण बिगारेर, थन्क्याएर अथवा बिग्रिएको बहाना बनाएर बिरामीलाई निजी अस्पतालमा दौडाउने गरिएको अस्पतालमा उपचार गर्न आउने बिरामीका आफन्तले बताएका छन ।
साढे तीन सय शैयाको कोसीमा विविध सेवासुविधाका कारण विपन्न र ग्रामीण भेगका बिरामीको चाप हुने गर्छ । अस्पताल प्रशासनका अनुसार दैनिक १ हजार ५ देखि दुई हजारको हाराहारीमा बिरामी उपचार गर्न आउने गर्छन् । उपकरणलगायत स्तरीय उपचार सेवा हुँदाहुँदै पनि त्यहाँका कर्मचारीले निजीमा रिफर गर्ने गरेको प्रमाण भेटिएको छ ।

विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेललाई प्रेसरले हानेपछि घरमा ढले । परिवारका सदस्यले उनलाई तत्काल १६ कातिक १० बजे राती कोशी अस्पतालको आकिस्मक कक्षमा पु¥याए । भुजेल परिवारको आर्थिक अवस्था नाजुक भएको कारणले उनीहरूले कोसी अस्पताल लगेका थिए । त्यसबेलाको ड्युटीमा आकस्मिक कक्षम अहेब अजय यादव थिए । उनले बिरामीको अवस्था हेरेपछि यहाँ उपचारको लागि ठाउँ खाली नभएको र राम्रो र गुणस्तरीय स्वास्थ्य उपचार गर्न सेवा रेड प्लस हस्पिटलमा लैजान सुझाव दिए ।

उक्त हस्पिटलको संचालक अहेव यादवसहित कोसी अस्पतालका अवकाश प्राप्त लेखा अधिकृत राजकुमार दाहाल र अर्का एक जना अस्पतालका कर्मचारीको लगानी रहेको खुलेको छ । यो हस्पिटल कोसीदेखि करिब तीन सय मिटर उत्तरमा रहेको छ ।

आफ्नै अस्पतालमा विरामी लैजान पल्किएका अहेब यादवले फोन गरेर मे १ च १६७९ नम्बरको एम्बुलेन्स बोलाए । राति आएको एम्बुलेन्समा हालेर विरामी भुजेललाई रेड प्लस हस्पिटलमा राति ११ बजे पु¥याए । रेडप्लस हस्पिटलमा दुई दिन राखेर उपचार गरेको बिल ७० हजार आएपछि बिरामीका आफन्त चिन्तित भए । सस्तोमा उपचार हुने बताएर स्वास्थ्यकर्मीले उनीहरूलाई रेडप्लस हस्पिटल पठाएको विरामीका आफन्तले बताएका छन । ऋण काडेर रेडप्लसको पैसा तिरेपछि तत्काल उनीहरूले रेफर मागेर पुनः कोशी अस्पतालमा १७ कातिकमा भुजेललाई लिएर आए । अहिले भुजेलको कोशी अस्पतालको आइसियूको ५ नम्बर बेडमा उपचार भइरहेको छ ।

भुजेलको जस्तै समस्यामा मोरङ बुढीगंगा गाउँपालिका १ की रामरेखा घिमिरे पनि हुन् । घिमिरेले कोसी अस्पतालका स्वास्थ्यकर्मीको कारण निजीमा चर्को शुल्क तिरेर उपचार गर्नुपरेको बताइन् । ‘कोसीमा आउने विरामी विपन्न सामुदायका हुने गरेका छन् । कोसीमै उपचार सम्भव हुने विरामीलाई रेफर गर्दा हामीजस्तो पैसा नहुने मान्छेको बिल्लीबाट भयो,’ उनले भनिन्, ‘यसरी उपचार सम्भवन हुने विरामीलाई कमाउ धन्दामा लागेका स्वास्थ्यकर्मीले रिफर गरेर आफ्नो हस्पिटलमा पठाउनेलाई कारवाहीको दायरामा ल्याउनुपर्दछ । आगामी दिनमा यस्तो गल्ती हुनबाट रोक्नुपर्छ ।’

उनको ३० वर्षीय छोरा समीर ढकाल १५ र्कािकमा साँझ घरको सिँढीबाट लडेर बेहोस भएका थिए । ढकालका आमा रामरेखा र दिदी उर्मिला ढकालले कोसी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । त्यसबेला रातीको १० बजेको थियो । ड्युटिमा थिए उनै अहेब अजय यादव । विरामीको अवस्था हेरेपछि उनले विरामीलाई आइसियूमा राख्नुपर्छ यहाँ ठाउँ खाली छैन भनिदिए । अघिल्लो विरामी सुरेश भुजेललाई जस्तै अहेब यादवले आफ्नो हस्पिटलमा लैजान सिफारिस गरे । यादवले बोलाएको एम्बुलेन्समा राखेर राती ११ बजे रेडप्लस हस्पिटलमा विरामी लिएर गए । रेडप्लस पु¥याएपछि विरामी ढकाललाई आइसियूमा राखियो । १६ कार्तिकमा एक रात राखेको बिल २३ हजार ४ सय रुपैयाँ आयो । सस्तोमा उपचार हुने भनेर आएका ढकाल परिवार हस्पिटलको बिल सोचेभन्दा बढी आएपछि आतिए । स्वास्थ्य बीमाबाट उपचार गर्ने भनेर आएका ढकाल परिवारले सहकारीबाट ऋण काडेर रेड प्लसको एक दिन उपचार गरेको पैसा बुझाएपछि रेफर मागेर मोरङ सहकारी हस्पिटल लिएर गए ।

रेडप्लसमा आइसियूमा राखेर उपचार गरेको विरामीको मोरङ सहकारीमा जनेरल वार्डमा दुई दिन राखेर उपचार गरेपछि १८ कातिकमा डिस्र्चास भयो । मोरङ सहकारीमा उनीहरुले स्वास्थ्य बीमाबाट उपचार गरेका थिए । ‘सुरूमै मोरङ सहकारीमा रेफर गरिदिएको भए यति धेरै पैसा खर्च हुने थिएन,’ विरामीका आमा रामरेखा ढकालले भनिन्, ‘सरकारी हस्पिटलमै केही स्वास्थ्यकर्मी र विचौलियाको कारणले विरामीमा ठगिनु परेको छ ।’

यसैगरी ३ कार्तिकमा बिष सेवन गरेर मोरङको कानेपोखरी गाउँपालिका ४ की ३० वर्षीय एक जना महिला अर्धचेत भएकी थिइन् । आर्थिक अवस्था नाजुक रहेको ऋषिदेव सामुदायकी ति महिला सुकुमबासी हुन् । उनी डाँसखोला नजिक फुसको छानो भएको घरमा बस्ने गरेकी थिइन् । विरामी भएपछि परिवार र छिमेकीले १० हजार रुपैयाँ ऋण काडेर कोसी अस्पतालमा लिएर आएका थिए । कोसीमा आएपछि जेनेरल वार्डमा भर्ना भएर उनको उपचार भइरहेको थियो । ५ कातिकमा विचौलियाले ती विरामीलाई कोशी अस्पतालको शैय्याबाट हस्पिटल चौकमा रहेको विराट सिभिल हस्पिटलमा पु¥याए । कोसीमा भर्ना भएका विरामी होसमा आउँदा विराट सिभिलमा थिए । विराट सिभिलमा तीन दिन राखेर उपचार गरेको बिल फार्मेसीको २० हजार र हस्पिटलको ३० हजार आएको भएको थियो ।

पैसा तिर्न नसकेपछि स्थानीयले चन्दा संकलन गरेर हस्पिटललाई २० हजार रुपैयाँ बुझाएपछि बाँकी रहेको औषधी र उपचार खर्च हस्पिटलले मिनाहा गरिदिएको थियो । ती विरामी विराट सिभिल हस्पिटलमा ल्याएबापत बिचौलियाले १० हजार रुपैयाँ कमिसन पाएका थिए ।

रेड प्लस, विराट सिभिलसहित यहाँका निजी हस्पिटल र च्याउसरी खुलेको हस्पिटलमा विरामी पठाइदिएबापत् निश्चित कमिसन छुट्याउने गरेका छन । एक हस्पिटल संचालकका अनुसार यसरी रिफरमा आउने स्वास्थ्यकर्मी र विचौलियालाई हस्पिटलले ३० प्रतिशतसम्म कमिसन दिन्छन् ।

कोसी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले आफूले पनि अस्पतालका विरामी अन्यन्त्र पठाउने गरेको गुनासो सुनेको बताए । ‘विरामीको पनि गुनासो आएकोले हामीले ड्युटीमा खटिएको चिकित्सक र स्वास्थ्यकर्मीलाई सचेत गराएका छौं,’ मेसु यादवले भने, ‘यहाँ उपचार सम्भव हुने विरामीलाई अन्यन्त्र रिफर गरेको भेटिए तत्काल कारवाहीको दायारमा ल्याउनेछौं ।’ ४० शैय्याको कोसी अस्पतालको आकस्मिक कक्षको सुधारमा आफू लागिपरेको उनले सुनाए ।

यसरी विरामीलाई अन्यन्त्र रेफर गर्ने यादवलाई हस्पिटलले स्पष्टीकरणको लागि पत्र पठाएको छ । तर, उनले उक्त पत्र बुझेका छैनन् । यता अस्पताल आकस्मिक कक्षका अहेब यादवले हस्पिटलमा आएका विरामीलाई अन्यन्त्र नपठाएको दाबी गरेका छन । हस्पिटलले स्पष्टीकरण सोधिएको विषयमा भने उनले अनविज्ञता प्रकट गरे । ‘हस्पिटलले स्पष्टीकरण काटेको भन्ने मैले पनि सुनेको हो । पत्र बुझेको छैन,’ उनले भने, ‘मंगलबार हस्पिटल गएर पत्र बुझनेछु । त्यसपछि थाहा हुनेछ ।’

मङ्गलबार, २२ कार्तिक, २०७९, बिहानको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर