विराटनगर । विराटनगर २ मुनाल पथमा रहेको श्रृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्षमा २ करोड ३९ लाख ८९ हजार ४ सय ७ रुपैयाँ आम्दानी गरेको छ ।
सहकारीको विराटनगरमा शनिवार भएको २६ औँ वार्षिक साधारण सभामा सहकारी अध्यक्ष मोहन प्रसाद भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३३ करोड १४ लाख ९ हजार ८ सय ७ रुपैयाँ कारोबार गरेको संस्थाले २ करोड २९ लाख ६६ हजार ५६ रुपैयाँ खर्च गरेको छ । सहकारीको २ करोड २८ लाख ६४ हजार १ सय रुपैयाँ सेयर पुँजी रहेको छ भने निक्षेप १० करोड ५३ लाख ८८ हजार ५ सय ९७ रुपैयाँ रहेको छ ।
सहकारीमा ९ सय २७ महिला र ८ सय १९ पुरुष गरी जम्मा १ हजार ७ सय ४६ जना शेयर सदस्यीय रहेका छन् ।
वार्षिक साधारण सभाको प्रमुख अतिथि रहेका राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार रमेश प्रसाद पोखरेलले मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए । छरिएर रहेको पुजिलाई एकीकृत गर्दै आर्थिक विकासमा सहकारीको उल्लेखनीय भूमिका रहेको बताए । उनका अनुसार मुलुकभर २४ हजार सहकारीमा ७४ लाख मानिस आबद्ध भएको जानकारी गराए । आबद्ध भएका मध्ये ३९ प्रतिशत सहकारीमा महिला आबद्ध छन् । सहकारीमा मार्फत १२ खर्बको कारोबार हुने गरेको उनले बताए ।
सोही अवसरमा सहकारीले चार जनालाई सम्मान गरेको छ । असल बचतकर्ता चन्द्र मणि ढकाल, शोभादेवी भगतलाई सम्मान गरेको थियो । यस्तै असल ऋणीहरूमा शकुन्तला देवी सरदार र सिताराम महतोलाई सहकारीले सम्मान गरेको थियो । सम्मानित हुने सहकारीका सदस्यहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
सहकारीका अध्यक्ष मोहन प्रसाद भट्टराईको सभापतिमा भएको कार्यक्रमको संचालन सहकारीका सचिव नारायण प्रसाद धमलाले गरेका थिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!