मनमोहनमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा भर्ना खुलेको छ ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा कहलिएको मनमोहनले स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको बी।ई इन सिभिल इन्जिनियरिङ र बीइ इन इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स इन्जिनियरिङमा भर्ना खुलेको हो ।
विश्व विद्यालयले सीमित कोटा राखेर भर्ना खुलाएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
स्नातक तहको बिईइन सिभिल इन्जिनियरिङ र बिईइन इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स इन्जिनियरिङ दोस्रो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आवेदन कार्तिक ३० गतेसम्म खुल्ला गरेको विश्व विद्यालयका उपकुलपति सुवास श्री पोख्रेलले जानकारी दिए । उनका अनुसार दोस्रो पटक सञ्चालन हुन लागेको स्नातक तहको पहिलो चार बर्से इन्जिनियरिङ विषयमा सिभिलतर्फ ४८ जना र इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स तर्फ २४ जना बिद्यार्थीहरु भर्ना हुनेछन् ।
भर्नाका लागि प्रवेश परीक्षाका लागि आवेदन खुल्ला भएको र देश विदेशका इच्छुक विद्यार्थीले आवेदन गर्न सक्ने उपकुलपति पोखरेलले बताए ।
स्नातक तहको इन्जिनियरिङ संकायमा रेल्वे र पानी जहाज, भौतिक पूर्वाधार निर्माण देखी स्वदेशी उद्योगहरूलाई आवश्यक पर्ने सुहाउँदो जनशक्ति उत्पादन गराउने विभिन्न विषयमा पठनपाठन गरिने स्कुल अफ इन्जिनियरिङका डिन डा। प्रचण्डमान प्रधानले जानकारी दिए । डिन प्रधानका अनुसार स्नातक तहको इन्जिनियरिङ विषय पठनपाठनका लागि आधुनिक ल्याब सहित सबै भौतिक पूर्वाधार र आवश्यक जनशक्ति तयार भएको बताए ।
रजिस्ट्रार दिननाथ फुयाँलका अनुसार स्नातक तहको चार बर्से सिभिल इन्जिनियरिङ कोर्स पढ्न साधारण नेपाली विद्यार्थीले ५ लाख ८५ हजार, विदेशी विद्यार्थीले ८ लाख ७७ हजार ५सय र प्रायोजित विद्यार्थीका लागि ७ लाख ३१ हजार २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भर्ना भएका विद्यार्थीले पछि फिर्ता हुनेगरि प्रयोगशाला र स्कुल बापत १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ ।

विश्वविद्यालयले भावी दश वर्षे कार्य योजना बनाएको छ । पहिलो पाँच वर्ष योजना अन्तर्गत आर्थिक वर्ष २०७८ देखि २०८२ सम्ममा विभिन्न प्राविधिक विषयका ७ वटा स्नातक र पाँच वटा स्नातकोत्तर विषयहरू संचालन गर्ने लक्ष्य रहेको छ । दश वर्षमा स्नताक, स्नातकोत्तर र विद्यावारिधि गरी २८ वटा विभिन्न विषयहरू संचालन गर्ने लक्ष्य लिएको छ । सबै कार्यक्रमहरू संचालन भएपछि स्कुलमा २ हजार ८ सय ३१ जना विद्यार्थी लाभान्वित हुने विश्वविद्यालयले जनाएको छ ।

प्रदेश सरकारसँग पर्याप्त बजेट दिन माग

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले गरिब, दलित, र जेहेन्दार घाइते अपाङ्गता भएका बिद्यार्थीहरुका लागि छात्रबृत्तीको व्यवस्था गर्न र पर्याप्त बजेट विनियोजन गर्न प्रदेश १ सरकारसँग आग्रह गरेको छ । उपकुलपति डा। सुभाष श्री पोखरेलका अनुसार पहिलो शैक्षिक सत्र देखी नै एमटियुले आफ्नै श्रोतबाट विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिने भएको छ । ‘पर्याप्त श्रोत नभएकोले अपेक्षा अनुसार छात्रवृत्ति दिन सकेनौ । प्रदेश सरकारले दिएमा धेरै भन्दा धेरै गरिब र सीमान्तकृत समुदायका बिद्यार्थीहरुलाई नि ः शुल्क पढाउन सक्ने थियौ,’ उपकुलपति पोखरेलले भने, ‘यसै गरी देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले स्थापना देखी नै आर्थिक समस्या झेल्नुपरेको छ ।’ पर्याप्त बजेट नहुँदा मेडिकल लगायतका अन्य सङ्कायतर्फको पठनपाठन सुरु गर्न समस्या भएको उनले बताए ।

मेडिकल तर्फको शैक्षिक सत्र आगामी आर्थिक वर्षबाट

स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज अन्तर्गतको स्नातक तहको मेडिकल फार्मेसी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रम आगामी आर्थिक वर्षदेखि सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० बाट मेडिकलतर्फ पठनपाठन गराउन स्नातक तहको पाठ्यक्रम निर्माण गरेर काउन्सिल बाट स्वीकृत पनि गराइसकेको उपकुलपति पोखरेलले जानकारी दिए ।

विश्व विद्यालयले संचालन गर्ने कोर्सको लागि छुट्टै करिकुलम बनाउने उनले बताए । विश्वविद्यालयले उत्पादन र समृद्धिसँग जोडेर करिकुलमहरू बनाउने उनले बताए । ‘मेडिकल फार्मेसीको कक्षाहरू सञ्चालनमा आएपछि विश्वविद्यालयले मेडिसिन प्लान्टको लागि उत्पादन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने योजना रहेको छ,’ उनले भने ।

देशकै १३ वटा विश्वविद्यालय मध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक विषयमा स्नातक तहदेखि पिएचडी सम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ । उपकुलपति पोखरेलका अनुसार आगामी पाँच वर्ष भित्र मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ । उनका अनुसार एमटियूले क्रमशः आइटी, पारा मेडिकल , पब्लिक हेल्थ, फार्मेसी , ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड म्यानेजमेन्ट लगायतका विषयमा २८ सय बढी बिद्यार्थीहरुलाई स्नातक देखी स्नातकोत्तर तहसम्म पठनपाठन गराउने छ ।

बिहिबार, १७ कार्तिक, २०७९, दिउँसोको ०४:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर