तेह्रथुम । तेह्रथुम लालीगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आशामा छन् । उनिहरुका अपेक्ष पनि ठुला खालका छैन्न । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकी उनीहरुका चुनावी एजेन्डा हुन ।
विसं २०१५देखि भोट दिँदै आएको छु, नेताले काम नगरेका हुन् की राम्रो उम्मेदवार छान्न नजानेर हो हाम्रो गाउँको विकास जहाँको त्यही रहेको छ, ७५ वर्षीय कविन्द्र श्रेष्ठले पीडा पोखे ।
उनी मात्रै होइन त्यस ठाउँका अधिकांश बासिन्दाले उम्मेदवारसँग गाउँमा स्वास्थ्यचौकी भइदिए सिटामोलसम्म त खान पाइन्थ्यो की भनेर हरेक चुनावमा गुनासो गर्दै आएका छन् । राम्रो स्वास्थ्य सुविधा त के सिटामोल मात्रै खानकै लागि पनि एक दिनको बाटो हिँडेर जिल्ला अस्पताल धाउनु परेको अर्का स्थानीयवासी ज्ञानबहादुर श्रीपालीले बताए । चुनाव आउन केही दिन मात्र बाँकी भए पनि कुन उम्मेदवारलाई भोट दिने भन्ने निर्णय गर्न नसकिएको अर्का स्थानीयवासी अम्बिका कार्कीले बताइन । स्वास्थ्यचौकी जसले स्थापना गर्छ उसलाई नै मत दिने पक्षमा रहेको उनको भनाइ छ ।
विगतका निर्वाचनमा थुप्रै नेतालाई जिताए पनि अहिलेसम्म कसैले पनि मन छुनेगरी काम गर्न नसकेको गुनासो गर्दै अम्बिकाले भनिन्, ‘हामीले विगतका चुनावमा धेरैलाई भोट दियौँ, खै उहाँहरूले अहिलेसम्म हाम्रा लागि केही गरेको देखेनौँ । जसलाई जितायौँ, उहाँहरू अहिले हामीसँग राम्रोसँग बोल्न पनि हुन्न । अरु के कुरा गर्नु र ? त्यसैले यस पटक राम्रो काम गर्ने जनप्रतिनिधिको खोजीमा छौँ । हामीलाई ठूला कुरा होइन्, काम चाहिएको छ ।’
चुनाव आएसँगै सबै नेता गाउँ पस्छन्, जितेर गएपछि कोही फर्किंदैनन् । हामी गाउँलेको समस्या जहाँको त्यही रहेको लालीगुराँस नगरपालिका–३ मुसाङखेलकी कमला कार्कीले गुनासो गरिन् । मंसिरको चटारो धमाधम काम गर्न छोडेर नेताका भाषण सुन्ने फुर्सद पनि छैन । खेतमा धान र बारीमा कोदो पाकिसकेको छ ।
मतदाताले घरदैलो तथा भेटघाटमा आउने सबै नेताहरूलाई आ–आफ्ना गुनासा पोख्न थालेका छन् ।
चुनाव आउँदा मात्र नेता गाउँमा आउने र चुनाव जितेर गएपछि फेरि नफर्किने गरेकाले गाउँको विकास पछि परेको गीता बानियाँले बताइन् । अघिल्लो जनप्रतिनिधिभन्दा असल विचार, जनताको हितमा काम गर्ने र आधुनिक कुरामा राम्रो ज्ञान भएको जुझारु उम्मेदवारलाई जिताउने पक्षमा रहेको अधिकांश मतदाताको भनाइ थियो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!