आर्थिक पाश्र्वचित्र निर्माण गर्दै उद्योग वाणिज्य महासंघ

आर्थिक पाश्र्वचित्र निर्माण गर्दै उद्योग वाणिज्य महासंघ

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको आर्थिक पाश्र्वचित्र बनाउने भएको छ । महासंघले तीन महिनाभित्र पाश्र्वचित्र निर्माण गरिसक्ने गरी तयारी गरेको छ ।

पाश्र्वचित्र तयार गर्न आवश्यक विषय र तथ्यांक संकलन गर्न खटिने अध्ययन सहायकहरुलाई बुधबार विराटनगरमा महासंघले अनुशिक्षणसमेत गरेको छ । आर्थिक क्षेत्र अन्तरगतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पाश्र्वचित्र तयार पारिने महासंघले जनाएको छ ।

प्रविधिको प्रयोग गरेर प्रदेश १ का १४ वटै जिल्लाका उद्योग वाणिज्य संघहरु मार्फत जिल्लाको आर्थिक क्षेत्रसँग सम्बन्धि सम्पूर्ण विवरण आगामी पुस महिनाभित्र संकलन गरी प्रकाशन गर्ने महासंघले जनाएको छ । अध्ययन सहायकहरुको अनुशिक्षण कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले औधोगिक क्षेत्रलाई आवश्यक पर्ने सहि तथ्यांक नभएकै कारण मुलुकको आर्थिक विकास हुन नसकेको बताए । उनले आर्थिक क्षेत्रलाई गतिशील बनाउन सहि तथ्यांक आवश्यक रहेकोले महासंघले पाश्र्वचित्र निर्माणको काम अघि बढाएको जानकारी दिए । पाश्र्वचित्र बनेपछि स्थानीय र बाह्य क्षेत्रका लगानीकर्ताहरुलाई प्रदेश १ मा नयाँ लगानी भित्र्याउन र लगानी थप्न सजिलो हुने बताए ।

महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य तथा प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले आर्थिक क्षेत्रको सहि तथ्यांक नभएकै कारण आर्थिक विकासको काम अघि बढ्न नसकेको बताए । उनले महासंघको पहल र समन्वयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर उत्कृष्ट आर्थिक पाश्र्वचित्र तयार गर्ने योजना अघि बढाएको जानकारी दिए । निजी क्षेत्रले आफ्नै पहलमा पहिलो पटक बनाउन लागेको आर्थिक पाश्र्वचित्रले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने अर्थविज्ञ डा.अर्जुन बरालले बताए । उनले पाश्र्वचित्रका माध्यमबाट कृषि क्षेत्रका सम्भावनाको पहिचान गर्ने, उत्पादन उद्योगको प्रबद्र्धन गर्ने र सेवा क्षेत्र अन्तरगत पर्यटन विकासको सम्भावना पहिल्याउने काममा ठूलो उपलब्धि थपिने दावी गरे ।
मुलुकलाई समृद्ध बनाउने भन्ने नारा विभिन्न राजनीतिक दलहरुले भन्दै आएकोमा त्यसका लागि आवश्यक आधारभूत जानकारी र तथ्यांक नभएको अवस्थामा महासंघसँगको समन्वयमा कम्यूनिटी इन्गेजमेन्टस् एण्ड आउटरिच प्रालिको प्राविधिक सहयोगमा पाश्र्वचित्र निर्माणको काम अघि बढेको हो । विज्ञ केछर आचार्यले अध्ययन एवं तथ्यांक संकलनका आधारभूत तरिका, अध्ययनको उपयोगीता र माध्यमहरुबारे अध्ययन सहायकहरुलाई जानकारी गराएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारिणी सदस्य एंव होटल एशोसिएसन प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठले पाश्र्वचित्र निर्माण भएपछि प्रदेश नं. १ को पर्यटन क्षेत्रको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्