कोशीमा पाठेघर फुटेर शिशुको मृत्यु

विराटनगर । विराटनगरको कोसी अस्पतालमा प्रसूतिका लागि भर्ना गरिएकी एक महिलाको पाठेघर फुटेर पेटभित्रै शिशुको मृत्यु भएको छ ।

प्रसूति व्यथाले च्यापेपछि अस्पतालमा भर्ना गरिएकी मोरङको कटहरी गाउँपालिका–४ की २४ वर्षीया सिर्जना परियारको शिशुको मृत्यु भएको हो । सोमबार बिहान ४ बजेतिर अस्पतालमा भर्ना गरिएकी उनको राति १० बजेतिर शल्यक्रिया गर्दा पाठेघर फुटेर पेटभित्रै शिशुको मृत्यु भएको पाइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.श्रद्धा श्रेष्ठले सिर्जनाको शल्यक्रिया गरेकी हुन् ।

अस्पतालका अनुसार गर्भवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गर्दा बच्चाको धड्कन ठीकै थियो । तर, साँझदेखि आमाको अवस्था गम्भीर बनेपछि शल्यक्रिया गरिएको पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवले बताए । ‘शल्यक्रिया गर्दा पेटभित्रै बच्चाको मृत्यु भइसकेको रहेछ’ उनले भने ।

पाठेघर फुटेर अत्यधिक रक्तश्राव हुँदा शिशुको मृत्यु भएको चिकित्सकले बताएका छन् । त्यसपछि आमालाई बचाउन पाठेघर नै फ्याकिएको छ । सिर्जनाको अवस्था पनि गम्भीर रहेकोले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको डा.अञ्जु देवले बताइन् ।

गर्भवतीको अवस्था गम्भीर भएपछि कोशी अस्पतालले परिवारका सदस्यलाई अन्यत्र लैजान भनेको थियो । तर, आफन्तले नलगेको अस्पतालको भनाइ छ । शल्यक्रिया गर्नुपर्ने उनीभन्दा अन्य गम्भीर विरामीलाई प्राथमिकतामा राख्दा उनको शल्यक्रियामा ढिलाई भएको थियो । बेलैमा शल्यक्रिया गर्न नपाउँदा दुःखद् घटना भएको डा.देवको भनाइ छ । सिर्जनाका जेठाजु सागर परियारले चिकित्सकको लापबाहीले घटना भएको गुनासो गरेका छन् । बुहारीलाई अस्पताल भर्ना गरिसकेपछि चिकित्सकले साँझसम्म वास्ता नगरेको उनको भनाइ छ ।

परियारका अनुसार अत्यधिक पेट दुखेपछि ३ दिनअघि पनि सिर्जनालाई अस्पताल लगिएको थियो । तर, पिसाबमा संक्रमण भएको र अरु समस्या नरहेको भनेर फर्काइदिएको उनको भनाइ छ । घर फर्काएपछि अवस्था झन् गम्भीर भएपछि पुनः अस्पताल भर्ना गरिएको थियो ।

बुधबार, १२ असोज, २०७९, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर