विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयले चाडपर्वलक्षित विभिन्न कार्यक्रम गरेको छ ।
नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने झल्को दिनेगरि मंगलबार विद्यालयमा कार्यक्रमहरु गरिएका हुन् ।
नर्सरीदेखि कक्षा १ सम्मका बालबालिकाहरुलाई विभिन्न क्रियाकलापमा सहभागी गराउँदै सँस्कृतिका विषयमा जानकारी गराइएको स्कूलले जनाएको छ । जमरा राख्न दशैं घर निर्माण गर्नेदेखि लिएर नवरात्रीमा पूजा आरधना गरिने नौं दुर्गा, तिहारमा पुजिने लक्ष्मी, गणेशलगायतका भगवानको रुपमा बालबालिकालाई तयार पारि गरिएको कार्यक्रमले सबैलाई वास्तविक पर्व मनाइरहेको अनुभूति गराएको थियो ।
चाडपर्वमा गरिने पूजा विधिदेखि बालबालिकालाई मनोरञ्जनमा समेत प्रत्यक्ष सहभागिता गराइएको थियो । बालबालिका आफैंले देउसी, भैलो भट्याउनेदेखि विभिन्न गितमा नृत्य प्रस्तुत गरेर सहभागिहरुलाई मख्ख बनाएका थिए । अझ तिहारमा बालिने झिलिमिलि बत्तिदेखि दाजुबहिनीको सम्बन्ध झल्काउन गरिएको भाईटिकाले सबैलाई प्रफुल्लित बनाएको थियो ।
विद्यालयका प्राचार्य टिकाराम पुरीले बाल्यअवस्थादेखि नै नेपाली संस्कृतिका विषयमा सिकाउन आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले हाम्रो संस्कृतिको जगेर्ना गर्ने मात्र नभई संस्कारसमेत सिकाउने बताए । पछिल्लो समय पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिमाथि अतिक्रमण गर्दै गएको भन्दै उनले अब सबै विद्यालयले सानै कक्षादेखि बालबालिकालाई हाम्रा संस्कृति र संस्कार सिकाउन आवश्यक रहेकोमा जोड दिए ।
मन्टेश्वरीकी इञ्चार्ज रेश्मी क्षेत्रीले स–साना नानीबाबुहरुमा नै सिक्ने उत्सुकता बढी हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने गरेको बताइन् । एभरेष्ट स्कूलका सह–प्राचार्य टीएन भण्डारीले बालबालिकाको सक्रिय क्रियाकलापको प्रशंसा गरिन् ।
कार्यक्रममा प्राचार्य पुरी, विद्यालयकी निर्देशक कमला पुरी, सह–प्राचार्य भण्डारी, विद्यालयका शिक्षक शिक्षिका तथा केहि अभिभावकहरुको सहभागिता थियो । ‘प्लेग्रुप’ देखि कक्षा १ सम्मको अध्यापन हुने एभरेष्ट मन्टश्वरीमा ३ सय बालबालिका अध्ययनरत छन् ।