विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरी धरानको धरान भेट्रान क्बल र आयोजक क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा धरानले सिराहाको लहान भेट्रान क्बललाई टाइब्रेकरमा ५–३ गोल फरकमा हराउँदै सेमिफाइनलमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको हो ।
धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाए । त्यस्तै लहानका सजकुमार आले, श्यामसुन्दर सिंह र सन्तोषकुमार चौधरीले गोल गरे भने मुरलीकान्त चौधरी गोल गर्न चुके ।
खेलको ९ औं मिनेटमा धरानका सुजितकुमार राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लहानका लागि ३१ औं मिनेटमा सुरेशकुमार चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको म्यान अफ द म्याच धरानका सुजितकुमार राई भए ।
त्यसैगरी, दोस्रो खेलमा आयोजकले पाहुना टोली इटहरकिो जनता भेट्रान क्लबलाई १–० गोल अन्तरमा हराउँदै सेमिफाइनलमा पुगेको हो । खेलको एक मात्र निर्णायक गोल ४२ औं मिनेटमा डेनिम राईले गरेका थिए । उनी खेलको म्यान अफ द म्याच भए ।
सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्बलले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेल झापा दमकको दमक–लखनपुर भेट्रान क्बल र विराटनगर हाटखोलाको मर्निङ भेट्रान क्बलबीच हुनेछ ।