सम्पादकीय

भन्सार राजस्व घट्नुको अन्तर्य

मुलुकमा आयातको दर निरन्तर बढिरहँदा विराटनगर भन्सारको राजस्व असुली दरले लक्ष्य प्राप्ति गर्न नसक्नुका अनेकौं कारण छन् । फेरिएको व्यापारको शैली, सरकारी नीतिमा आएको परिवर्तन, कोरोना कहर लगायतका धेरै कारणहरुले यसमा काम गरेको हुनसक्छ । त्यसबाहेक विराटनगर भन्सारको कार्यसम्पादनगत कमजोरी र क्षमताभन्दा बढी लक्ष्य दिइएको कारणले पनि यो अवस्था आएको हुनसक्छ । पछिल्ला वर्षहरुमा कोरोना कहरले हाम्रो अर्थतन्त्रमाथि नै घातक आक्रमण गरेको हुनाले कोरोनाकालमा लक्ष्य प्राप्ति हुन नसक्नु अस्वाभाविक होइन । तर, कोरोनापछि पनि अवस्था उस्तै देखिनुको कारण खोतल्नै पर्छ । सामान्य अवस्थामा पनि किन लक्ष्य अनुसारको प्रगति भइरहेको छैन ? अर्थ मन्त्रालय, भन्सार विभाग र स्वयम् विराटनगर भन्सारका लागि यो यक्ष प्रश्न हो ।

कुनैबेला विराटनगर भन्सारको आम्दानीको मुख्य स्रोत पेट्रोलियम पदार्थ थियो । पछिल्लो समयमा डिजेल भारतबाट सोझै पाइपलाइनबाट नेपाल आइपुग्न थालेको छ । विराटनगर हुँदै बरौनीबाट आउने पेट्रोलियमको मात्रा पनि ह्वात्तै घटेको छ । पेट्रोलको ठूलो परिमाण सिलिगुढीबाट काँकडभिट्टा नाका हुँदै आउँछ । यसले स्वाभाविक रुपमा विराटनगर भन्सारको आम्दानीको स्रोत घटाएको छ । तथ्यांकले नै यस्तो देखाएको छ । यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनु पर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ । यसले पनि विराटनगर भन्सारको आम्दानी घटेको प्रष्ट हुन्छ ।

विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको भन्सारले यसअघि कोरोना कहर, मिरगन्ज पुल जस्ता समस्याहरुबाट पनि असर खेपेको थियो । अहिले कोरोनापछि पनि फेरिएको व्यापार र अर्थनीतिले पनि काम गरेको देखिन्छ । नयाँ बजेटले विलासिताका वस्तुमा गरेको आयात कटौतीको असर पनि भन्सारमा देखिएको छ । विलासिताका वस्तु आयातमा कटौती गरेपछि स्वाभाविक रुपमा राजस्व पनि घट्ने नै भयो । कारोबार कम हुनुको अर्थ राजस्व घट्नु पनि हो । यसबाहेक नेपालले फलामे छड उत्पादन गर्न भारतबाट भारी परिमाणमा बिलेट आयात गथ्र्यो । जसको ठूलो हिस्सा विराटनगर नाका हुँदै नेपाल भित्रने गरेको थियो । अहिले बिलेटको आयात घटेर स्पन्ज आयात बढ्न थालेको छ । यसले पनि राजस्वको आम्दानी घटाउने निश्चित छ ।

अवैध कारोबारमा भइरहेको बढोत्तरी पनि भन्सारले उल्लेख्य राजस्व संकलन गर्न नसक्नुको मुख्य कारण हो । पछिल्लो समयमा धेरै सामानहरु चोरी निकासी भएर नेपाली बजारमा आइपुग्ने गरेको तथ्य लुकेको छैन । कपडादेखि मेशिनरी सामानहरुसम्म पनि चोरी तस्करी भएर नेपाल भित्रने गरेको देखिएको छ । यसबाहेक भन्सारले छाडेका ट्रक र ट्याक्टर राजस्व अनुसन्धान र प्रहरीले धेरैपटक नियन्त्रणमा लिएको पाइएको छ । यसले भन्सारको कार्यशैलीगत कमजोरी उजागर गर्दछ । नीतिगत रुपमा आएका परिवर्तनबाट भएको क्षति रोक्न नसके पनि भन्सारले आफ्नो कमजोरी सुधार्न भने सक्छ । यसतर्फ उसको प्रयास हुन जरुरी छ ।

मङ्गलबार, ११ असोज, २०७९, बिहानको ०७:५२ बजे

प्रतिक्रिया

  1. भंसार आसपास खुला सिमाना मा राज्य स्तर बाटै पर्खाल निर्माण गर्ने र सिमाना को अनुगमन गर्ने ब्यबस्था तुरुन्त गर्नु पर्ने !
    असल नियत ले सदैब राम्रो काम गर्ने ब्यबसायी लाई उनि हरु को माल जाँच पास मा कर्मचारी र ऐजेन्ट ले निरुत्साहित गर्ने कार्य बन्ध गरि राम्रो काम गर्ने ब्यबसायी लाई सम्मान पुर्बक ब्यबहार गर्ने बाताबरण को निर्माण हुनुपर्दछ ! प्रतेक साल स्थानीय तह मा ब्यबसायी लाई सम्मान गर्नु पर्दछ !
    बथनाहा मिरगंज को पुल अभिलम्ब सञ्चालन मा ल्याउन केन्द्र बाटेै पहल हुनु पर्दछ !
    न्यनबिजिकरण , परिणाम मा फरक पार्ने गलत नियत ले काम गर्ने लाई भंसार मा नै कार्बाहि गर्ने र भंसार आसपास पुलिस प्रसान कै मिलोमतो मा हुने चोरि पैठारी अभिलम्ब बन्द गर्न जिम्बेबार कर्मचारि लाई निलम्बन गरि तु कारबाहि गर्ने ! यिनै प्रकार का कर्य गर्न सके यो बिषम आर्थिक मन्दि मा पनि राजस्व संकलन मा अबस्य सुधार आउने छ !
    धन्यबाद !

प्रतिक्रिया:

सम्बन्धित खवर