विराटनगर । सामान्य ज्ञान (जि.के.) विषयको प्रश्नपत्रमा अशुद्ध वाक्यहरु समावेश गर्ने मोरङको जहदा गाउँपालिकास्थित दुर्गा माध्यामिक विद्यालयलाई गाउँपालिकाले दोश्रोपटक स्पष्टीकरण सोधेको छ ।
विद्यालयले तयार पारेको कक्षा ४ को अङ्ग्रेजी भाषमा तयार पारिएको जि.के. विषयको प्रश्नपत्रका अधिकांश प्रश्नहरु अशुद्ध पाइएपछि स्थानीय अभिभावकहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसबाट गाउँपालिका र विद्यालयको गरिमामा गम्भीर आँच आएको भन्दै असोज ७ गते प्रश्नपत्रको तयारी र भएगरेको विषयमा प्रष्ट पार्न स्पष्टीकरण सोधेको थियो ।
गाउँपालिकाले प्रश्नपत्र कसले तयार गरेको हो भन्ने विषयमासमेत जानकारी मागेकोमा विद्यालयले शिक्षकको अभाव भएको भन्दै सम्बन्धित विषयको शिक्षकको परिचय लुकाउने नियतले कुनै उल्लेख नगरी स्पष्टीकरण बुझाएपछि पुनः दोश्रोपटक तीन दिनभित्र प्रष्ट पार्न भन्दै स्पष्टीकरण सोधेको छ ।
विद्यालयले पहिलो पटक बुझाएको प्रष्टीकरणमा शिक्षकको अभाव भएको भनिएपनि विद्यालयमा प्राथमिक तहमा तीन जनाको दरबन्दी रहेकोेमा ६ जना शिक्षकहरु कार्यरत रहेको पाइएको गाउँपालिकाले जनाएको छ । सामान्यज्ञान अध्यापन गराउने शिक्षकको बारेमा कुनै जानकारी नगराइएको र प्रश्नपत्र तयार गर्दा उनको संलग्नता भए नभएको विषयमा पनि स्पष्ट नपारिएकोले स्पष्ट पार्न निर्देशन दिइएको छ ।
विद्यालयले तयार पारेको प्रश्नपत्रमा समावेश भएको १० वटा प्रश्नमध्ये ८ वटा प्रश्नमा भाषागत त्रुटी थियो ।