विराटनगर । सरकारले विद्यार्थीहरूलाई ओपिडी सेवामा ५० प्रतिशत छुट दिने भएको छ ।
स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने निर्णय गरीसकेको छ ।विद्यार्थीहरूलाई ओपिडी सेवाको टिकटमा ५० प्रतिशत छुटको व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ ।
२०७९ असोज ९ गते स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओपिडी सेवाका टिकटमा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो छुट सेवालाई नेकपा (एकीकृत समाजवाद)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष सुदेश पराजुलीले विगत लामो समयदेखिका माग सरकारले पूरा गरेकोमा खुसी व्यक्त गरे।
उनका अनुसार अनेरास्ववियुले २०७९ श्रावण ४ गते ज्ञापन पत्र र भाद्र ३० गते स्मरण पत्र बुझाउँदै सबै सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूलाई अस्पतालहरूमा ओपिडी सेवा निःशुल्क र सबै खाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गरियोस् भन्ने माग राखेको थियो।