‘लगनशीलताले नै सफलता पाएँ’

विराटनगर–७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवाल कक्षा १२ को परीक्षामा नेपालमै प्रथम स्थान ल्याउन सफल भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल प्रथम भएकी हुन् । देशभरीको उच्च माविलाई पछिपार्दै दिया नेपाल प्रथम भएपछि मेरील्याण्ड कलेजले विशेष सम्मान पनि गरिसकेको छ । संविधान दिवसको अवसर पारेर कलेजले भव्य कार्यक्रम आयोजना गरी नगद ५१ हजार रूपयाँसहित विशेष सम्मान गरेको थियो ।नेपाल प्रथम हुने हुने दियाको बुबा सुचित र आमा रीता अग्रवाल हुन् । १७ वर्षीय दियाले नेपाल प्रथम गरेपछी उनीसँग गरिएको संक्षिप्त कुराकानी :

पहिलोपटक परीक्षाफल थाहा पाउँदा कस्तो महसुस गर्नुभयो ?

–परीक्षा दिएपछि कक्षा १२ को परीक्षाफलको पर्खाइमा थिएँ । सोचेअनुरूप नै ३.९६ जिपिए आएको छ । म नेपाल प्रथम भएको खबर मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल सरले फोन गरेर बधाइ दिनुभयो । म खुसी र उत्साहित भएँ । परिणाम स्वभाविक भएपनि नेपालमा छात्राले सबैलाई पछिपारेर नेपालकै प्रथम भएको कुराले मलाई अझ बढी खुसी बनायो ।

यो सफलता कसरी प्राप्त भयो ?

– सफलताका लागि सबैभन्दा पहिलो त अनुशासन तथा मेहनत नै हो । कलेजमा एकाग्र भएर अध्ययन गर्ने, गुरुहरूले पढाएको नबुझेमा तुरुन्तै सोध्ने गर्दा पनि यो सफलता प्राप्त भएको हो । त्यसमा कक्षा ११ देखि आफू पढ्ने मेरिल्याण्ड कलेज र अभिभावकको सहयोग पनि थियो । मेरो सफलताको पछाडि आफ्नो मेहनतसँगै बुबाआमा र गुरुहरूको ठूलो हात छ ।

कसरी अध्ययन गर्दा यस प्रकारको सफलता मिल्दो रहेछ ?

– सबैभन्दा पहिला अध्ययनशील, लगनशील र अनुशासित हुन जरुरी छ । कक्षामा शिक्षकले पढाएको बेलामा ध्यान दिने, किताबलाई आफ्नो सबैभन्दा ठूलो र प्यारो साथी मान्नुपर्छ । पढाइप्रति दिक्क मानेर उम्किने गर्नुहुँदैन । किनभने यतिबेला अलिकति संघर्ष गरेर भए पनि भविष्य उज्वल पार्ने समयमा हो । पछि नपछुताउने गरी आफ्नो उद्देश्यमा लगनशील हुनुपर्छ ।

विद्यार्थीको सबैभन्दा ठूलो गुण अनुशासन हो । अनुशासित विद्यार्थी कहिल्यै असफल हुनै सक्दैन । पढाइको विषयमा ध्यान दिने, नबुझेको कुरा शिक्षकलाई सोध्ने । त्यस्तो गर्न सकेमा सफता प्राप्त हुनेछ । आजभोली विद्यार्थीहरुमा परीक्षा आउने बेलामा मात्रै पढ्ने बानी बढ्दै गएको छ । त्यसो गर्न हुँदैन । दैनिक ३–४ घण्टा रुटिन बनाएर पढ्नुपर्छ । त्यो गर्दा सहजै सफता पाउन सकिन्छ । त्यसबाहेक दैनिक ५ देखि १५ मिनेटसम्म योगा गर्ने बानी विकास गर्दा एकाग्रता वृद्धि र दिमाग स्वस्थ रहन्छ जस्तो लाग्छ ।
भविष्यको योजना के छ ?

– व्यवस्थापन संकाय अध्ययन गरेको कारणले सिए बन्ने इच्छा रहेको छ । चार्टर एकाउन्टेन्टको क्षेत्रबाट देशभित्रै योगदान गर्ने मेरो चाहना छ ।

सोमबार, १० असोज, २०७९, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर