विराटनगर । लकडाउनको बेवास्ता गर्दै बिहानैदेखि विराटनगरको शिवमन्दिर अगाडि किसानहरु भेला भएका छन् । कसैले मास्क लगाएका छन् त कतिपयले लगाएका छैनन् । सामाजिक दुरी कायम गर्न सरकारले भनेपनि त्यहाँ भेला भएका किसानहरुमा त्यो नियम लागू भएको देखिएन ।
किसानहरु रसायनिक मल लिन त्यहाँ जम्मा भएका हुन् । विराटनगरबाट झण्डै १० किलोमिटर टाढाबाट रसायनिक मल खोज्दै आएका किसानहरु कदमाहा कृषि सहकारी संस्था लिमिटेडको गोदाम भएका ठाउँमा आइपुगेपनि सहकारीले सामाजिक दुरी कायम गर्ने कुनै प्रवन्ध नगर्दा भीड बनाएर बसेका हुन् ।
किसानहरुमा यतिबेला कोरोना भाइरसको भन्दापनि कसरी खेती उकास्ने भन्ने बढी चिन्ता देखिन्छ । मुसुरो दाल उखेलेसँगै चैतेधान रोप्नेदेखि मकैखेतीमा मल हाल्ने चटारो सुरु भइसकेको छ । सहरमा मानिसहरु घरमै क्वारेन्टाइन बसेपनि गाउँका जनतालाई फुर्सद छैन । खेतिकिसानी चलिरहेकै छ ।
सवारी साधन बन्द हुँदा तातोघाममा सडकमा रसायनिक मल लोडगरेको साइकल घिसार्दै विराटनगर ४ इक्राहीका किसान ।