निर्णय गरेको ७ महिनापछि मोरङमा कृषि ज्ञान केन्द्र स्थापना

विराटनगर । प्रदेश १ सरकारले निर्णय गरेको सात महिनापछि कृषि ज्ञान केन्द्र मोरङमा स्थापना भएको छ । विराटनगर १३ मा कृषि ज्ञान केन्द्र स्थापना भएको हो । ज्ञान केन्द्रको उद्घाटन प्रदेश १ का कृषि मन्त्री झलक बहादुर मगरले शुक्रवार उद्घाटन गरे ।

२०७८ माघ २३ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मोरङसहित तेह्रथुम र ताप्लेजुङमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । यी तीन जिल्ला बाहेक ११ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आइसकेको छ । तेह्रथुममा असोज ९ र ताप्लेजुङमा असोज १० गते कृषि ज्ञान केन्द्र स्थापना हुनेछ । अब तेह्रथुम र ताप्लेजुङमा कृषि ज्ञान केन्द्र स्थापना भएपछि प्रदेश १ को १४ वटै जिल्लामा कृषिजन्य कामहरू सम्बन्धित जिल्लाहरूबाट हुनेछ ।

कार्यक्रममा बोल्दै कृषि मन्त्री मगरले कृषिमा यन्त्र करणको प्रयोग गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए । तीन तहको सरकारले स्रोत साधनको उच्चतम प्रयोग गरी कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए । कृषि उत्पादन बढाउन प्रदेश सरकारले २८ वटा स्थानीय तहमा एक पालिका एक उत्पादन वृद्धि कार्यक्रम सुरु गरेको मन्त्री मगरले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाले कृषि पेशालाई सम्मानित पेशाको रूपमा विकास गरेर अगाडी बढाउनुपर्ने बताए । मोरङमा स्थापना भएको कृषि ज्ञान केन्द्रमा १० जना कर्मचारीको दरबन्दी रहेको छ । यहाँबाट बाली, रोग किरा, बागवानी, अनुदानको कार्यक्रमलगायतका कामहरू हुने कृषि ज्ञान केन्द्र मोरङका निमित्त कार्यालय प्रमुख रामदेव सिंहले बताए । कृषि ज्ञान केन्द्रमा प्रदेश र सङ्घ गरी आठ करोड रुपैयाँ बजेट बिनयोजन गरेको छ ।

यसअघि मोरङमा कृषि ज्ञान केन्द्र स्थापना नहुँदा मोरङका कृषकहरू सुनसरी जानुपर्ने बाध्यता रहेको थियो । कार्यक्रममा बोल्दै मोरङको कटहरी गाउँपालिका कृषक कोपिन्द्र सिंहले मोरङमै कृषि ज्ञान केन्द्र स्थापना भएपछि कृषिजन्य काम कारबाहीको लागि सहज भएको बताए ।

शुक्रबार, ०७ असोज, २०७९, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर