कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन ढिला गरेको भन्दै सरकारले खरिद सम्झौता रद्द गरेको झन्डै एक साता भएको छ । तर त्यस्ता सामग्री अब कहाँबाट कहिलेसम्म ल्याइसक्ने भन्नेबारे अन्योल देखिएको छ ।
दुई देशका सरकारबीच समन्वय गरेर अर्थात् जीटूजी सम्झौतामार्फत् ल्याउने जिम्मेवारी दिइएको नेपाली सेनाले खरिद एकाइ गठनको प्रक्रियामा रहेको र सामानको उपलब्धताबारे विभिन्न देशसँग अनौपचारिक कुरा भइरहेको जनाएको छ ।
के छ सामानको स्थिति ?
तर कोरोनाभाइरस रोकथाम र नियन्त्रणका त्यसका लागि आवश्यक पर्ने सामग्री क्रमशः सकिँदै गएको छ । अहिले सरकारसँग एक हप्तादेखि १५ दिनसम्म मात्र काम गर्न पुग्ने सामग्री रहेको बताइएको छ ।
यसअघि आवश्यक सामग्रीको खरिद सम्झौता रद्द गर्ने निर्णयसँगै तीन दिनमा बोलपत्रको काम सक्ने र त्यसको पाँच दिनमा सामान ल्याउने योजना स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको थियो ।
तर त्यसअघि नै मन्त्रिपरिषद्ले जीटूजी सम्झौतामार्फत् नेपाली सेनालाई त्यस्ता सामग्री ल्याउने जिम्मेवारी दिएपछि सबै पक्ष सेनाकै भर परेको देखिन्छ ।
के गर्दैछ नेपाली सेना ?
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड (१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा यो विषयमा छलफल भएर सामानको सूची तयार भइसकेको बताइएको छ ।
सेनाले भने खरिदका लागि आवश्यक संयन्त्र निर्माणको निर्णयबारे रक्षा मन्त्रालयलाई पत्राचार गरिएको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, खरिद एकाइ गठन भएपछि मात्र सबैथोकको सहजीकरण गर्न सकिने भयो । गुणस्तरको कुरा होला, अनि कुनकुन देशलाई लेखिपठाउने भन्ने कुरा होला । हामीले अहिले सोचविचार गरेर सूची बनाउने काम गरिरहेका छौँ । अनि कुन कुन दूतावासमा कुरा गर्दा होला भनेर गरिरहेका छौँ। चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुर आदि हुन सक्छन् । अनौपचारिक कुराकानी भइरहेको छ । रक्षा मन्त्रालयबाट जबाफ आएपछि अगाडि बढ्न सकिन्छ ।
कसरी हुँदैछ समन्वय ?
यसबीचमा विभिन्न राजदूतहरूसँग भेटेर उनीहरूको देशमा त्यस्ता सामान पाउन सक्ने अवस्थाका विषयमा छलफल गरिएको र विभिन्न देशमा रहेका सैनिक सहचारीहरूलाई परिचालन गरिसकिएको बताइएको छ । पहिले खरिद गरिएका र विभिन्न क्षेत्रबाट सहयोगका रूपमा आएका सामग्रीको हाल व्यवस्थापन गरिरहेको र त्यसले केही साता मात्रै धान्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
तत्काललाई पुग्ने स्टक छ। अब १५ दिनलाई पुग्ने छ । विभिन्न ठाउँबाट अनुदान पनि आइरहेको छ । स्वास्थ्यकर्मीका लागि आवश्यक (व्यक्तिगत सुरक्षा सामग्री) पीपीई तीन(चार हजार छन्, त्यस्तै मास्कहरू छन्, उनले भने ।
स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री, परीक्षण यन्त्र र त्यसको किट अनि भेन्टिलेटर लगायतका थुप्रै सामग्री बेलैमा खरिद नगरे परीक्षण र उपचार प्रभावित हुने अधिकारीहरूको भनाइ छ ।
बिबिसी नेपालीबाट