विराटनगर । कोरोना भाइरस (कोभिड–१९)को कारण विश्वमा ७४ हजार भन्दा बढीको मृत्यु भएको छ । भाइरसका कारण सोमबारसम्म ७४ हजार ६५४ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म १३ लाख ४६ हजार ५०४ जनामा भाइरस संक्रमण भएको छ । संसारमा ९ लाख ९३ हजार १७४ जना संक्रमित उपचार गराइरहेका छन् ।
अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन् ।
अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुले चेतावनी दिइसकेका छन् । अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको राज्य छ । न्युयोर्कमा अहिलेसम्म समग्र तीन हजार पाँच सयको ज्यान गएको छ ।
अहिले सम्म सबै भन्दा धेरै इटालीमा १६ हजार भन्दा बढीको ज्यान गएको छ भने स्पेनमा १३ हजार भन्दा धेरै मानिसकोम मृत्यु भएको छ । विश्वभर दुई लाख ७६ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किएका छन्।