धनकुटा । यो वर्षको राष्ट्रिय बाल दिवस सरकारी तथा गैरसरकारी संस्थाले बालबालिकाको क्षेत्रमा विभिन्न काम गरेर मनाए । तर, हिमाली तथा पहाडी दुर्गम भेगका बालबालिकाका लागि भने बालदिवसबारे कुनै जानकारी नहुने अवस्था छ ।
गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले तयार पारेको खाका अनुसार बालबालिकाको घर र विद्यालयको दुरी आधा घण्टाको अवधिभित्र हुनुपर्छ । तर, धनकुटाको साँगुरीगढी गाउँपालिका ७ आस्कोटका १५ वर्षका अर्पण राई करिब दुई घण्टा पैदल हिँडेर विद्यालय पुग्न बाध्य छन् ।
वडाको महाभारतमा रहेको गोलखाडी माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत उनको दैनिक करिब चार घण्टाभन्दा बढी समय कुल जान र आउनमै बित्ने गरेको छ । उनीसँगै आस्कोटबाट दैनिक करिब ३० विद्यार्थी लामो यात्रा गरि विद्यालय धाउन बाध्य छन् ।
करिब तीन सय विद्यार्थी रहेको विद्यालयमा आधा भन्दाबढी विद्यार्थी एक घण्टाभन्दा टाढाको साँगुरीगढी गाउँपालिका ७ कै आसकोट, हुटिटेन, खोरलुम्फु, सिंहखोला, छिनामचोकलगायत गाउँबाट आउने गरेका छन् । कक्षा ६ देखि १० सम्ममा विद्यार्थी टाढाबाट आउन बाध्य छन् ।
टाढाबाट आएका विद्यार्थी ढिलागरी विद्यालय आउने, थकाइ मान्ने, छिटै भोकाउने तथा छिटै विद्यालय छाड्ने जस्ता समस्या भएकाले पठनपाठनमा समस्या हुने विद्यालयका प्रधानाध्यापक हरिलाल शाहले बताए । विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै विद्यालय नक्साङ्कन गर्ने र नक्साङ्कनकै आधारमा सबैलाई सहज हुनेगरी नयाँ विद्यालय खोल्ने सरकारको नीति छ । तर, त्यस अनुसार स्थानीय तहले काम गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई धनकुटाको प्रमुख मोहन राई बताउँछिन् ।
साँगुरीगढी गाउँपालिकाले भने विद्यालय नक्सांकन गरेपनि विद्यालय खोल्न समस्या हुने गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले विद्यार्थी कम भएका कारण विद्यालय गाभिने अवस्था रहेकोले नयाँ खोल्ने संभावना छैन ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!