प्रदेश १ साक्षर प्रदेश घोषणा

विराटनगर । प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिएको छ ।अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई साक्षर घोषणा गरेको हो । प्रदेश १ का सभामुख प्रदीपक कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरेका हुन ।

प्रदेशका १४ जिल्लालाई यस अघि नै साक्षर घोषणा गरिएको थियो । प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुगम जिल्लाहरूमा साक्षरता प्रतिशत कम देखिएको छ ।

पाँचथरमा ९७ प्रतिशत साक्षर रहेका छन् भने झापामा ९८।३३ प्रतिशत, धनकुटामा ९७ .५ प्रतिशत ओखलढुङ्गामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत, सुनसरीमा ९५.५ प्रतिशत मोरङ ९६.५ प्रतिशत रहेका छन् । प्रदेश १ का झापा मोरङ सुनसरी जिल्ला सुगममामा पर्छ । अन्य पहाडी जिल्लाको तुलनामा यी जिल्लामा साक्षरता कम देखिएको छ ।

यस्तै तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८प्रतिशत,उदयपुरमा ९५.३२ प्रतिशत, सखुवा सभामा ९५.६३प्रतिशत ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत प्रतिशत साक्षर रहेका छन् । १४ जिल्लाको जम्मा साक्षरता ९६.७४ प्रतिशत रहेको छ ।

नेपालमा २०७१ सालदेखि साक्षर जिल्ला घोषणा गर्न थालिएको हो । त्यसका लागि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा विक्रम संवत २०६५ र २०६९ मा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भए सो क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ ।

नेपालमा निरक्षरता हटाउन सरकारले वि।स।२००४ साल देखिनै प्रौढ शिक्षाको थालनी गरेको थियो । राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११ ले प्रौढ साक्षरता कार्यक्रमलाई कार्यान्वयन गर्न सिफारिस गरेपछि विक्रम संवत २०१३ सालदेखि योजनाबद्ध रूपमा प्रौढ साक्षरता कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

प्रदेश १ मा ४५ लाख ३४ हजार नौ सय ४३ जनसंख्या रहेकोमा ९६।७४ प्रतिशत साक्षर रहको सामाजिक विकास मन्त्री राजन राईले बताए ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममा समेत प्रदेशलाई साक्षर घोषणा गर्ने उल्लेख गरीएको थियो । यो घोषणासँगै प्रदेश १ तेस्रो साक्षर प्रदेश बनेको छ । यसअघि वाग्मती र गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिसकिएको छ । आगामी आर्थिक वर्षमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने मन्त्री राईको भनाइ रहेको छ ।

बिहिबार, २३ भदौ, २०७९, बिहानको १०:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर