विराटनगर । नेपाली काँग्रेस निकट नेताहरूको नाममा स्थापना भएको प्रतिष्ठान र संस्थाहरूको नाममा करडौं बजेट छुट्याएको विराटनगर महानगरपालिकाले बाल विकास शिक्षकले पाउँदै आएको न्यूनतम पारिश्रमिक भने कटौती गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेगरी महानगरपालिकाले बाल विकास शिक्षकको न्यूनतम् मासिक पारिश्रमिकमा २ हजार रुपैयाँ कटौति गरेको हो ।
महानगरपालिकाले यसअघि बाल विकास शिक्षकलाई मासिक ७ हजार रुपैयाँ दिँदै आएको थियो । २०७९÷८० महानगरपालिकालले ल्याएको नीति तथा कार्यक्रममाबाट २ हजार रुपैयाँ घटाएर मासिक ५ हजार रूपैयाँ मात्र दिने निर्णय गरेपछि बाल विकास शिक्षकहरु आन्दोलित भएका छन् ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले १७ भदौमा विराटनगरका सम्पूर्ण सामुदायिक विद्यालय र बालविकास केन्द्रहरूलाई तल कटौती भएको परिपत्र गरेको छ । बालविकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीका लागि न्यूनतम मासिक पारिश्रमिक १५ हजार निर्धारण गरी त्यस्तो पारिश्रमिकमध्ये नेपाल सरकारको तर्फबाट प्रतिसहजकर्ता १० हजार र विद्यालय कर्मचारीका लागि ८ हजार प्रतिमहिनाका दरले सशर्त अनुदान उपलब्ध गराएकोमा बाँकी पारिश्रमिक स्थानीय तहले आफ्नै श्रोतबाट उपलब्ध गराउनुपर्ने भएकोले कटौती गरेको महानगरले जनाएको छ ।
महानगरले सहजकर्ताको लागि प्रतिमहिना ५ हजार तथा विद्यालय कर्मचारीका लागि प्रतिमहिना ७ हजारका दरले मात्र उपलब्ध गराउने व्यवस्था गरेको छ । सरकारले कर्मचारीको तलब १५ प्रतिशत बृद्धि गरेको अवस्थामा खाइपाइ आएको पारिश्रमिक कटाएपछि बालशिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
विराटनगरका १४६ जना बाल विकास शिक्षकहरू आइतबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले विराटनगर महानगरपालिको गेटमा धर्ना दिएर खाइपाइ आएको पारिश्रमिक नकटाइ महानगरले दिने ७ हजार रुपैयाँ कायम गर्नुपर्ने माग गरेका छन् । उनीहरूले सोमबार पनि महानगरको गेटमा धर्ना दिए ।
दैनिक ६ घण्टासम्म बालवालिकाहरुको पठनपाठनमा खटिने शिक्षकको पारिश्रमिक वृद्धि गरिनुपर्नेमा विराटनगर महानगरपाकिालले शिक्षकहरुको तलब घटाएर अन्याय गरेको बाल विकास शिक्षक संघर्ष समितिको संयोजक सावित्रा निरौलाले बताइन् । महानगरपालिकाबाट बिगतमा पाउँदै आएको पारिश्रमिकको सुनिश्चिता नभएसम्म बाल विकास शिक्षकहरूले आन्दोलन जारी राख्ने बताएका छन् ।
‘यहाँ दुई दशकदेखि अध्ययन गराउने बाल विकासका शिक्षकहरू रहेका छन् । १३ सय रूपैयाँबाट पढाउँदै मासिक ७ हजार रुपैयाँ पु¥याएको थियो । त्यो पनि अहिले आएर घटाएर मासिक ५ हजार रुपैयाँ मात्र दिने निर्णय गर्नु अन्याय हो,’ शिक्षकहरुको भनाइ छ, ‘बाल विकास शिक्षकको सेवा सुविधा बढाउनुपर्नेमा अहिले घटाएर स्थानीय सरकारले अत्याचार गरेको छ ।’ महानगरपालिको निर्णाय तत्काल नसच्याएसम्म निरन्तर रूपमा आन्दोलनमा उत्रिने निरौलाले बताएकी छन् ।
बौद्धिक श्रम शोष गर्न पाइदैन, हाम्रो माग सम्बोधन गर, बाल विकास शिक्षकलाई सम्मानजन व्यवहार गर, शिक्षकलाई स्थानीय सरकार भएको प्रत्याभुति गरियोस्, खाइपाइ आएको तलब घटाउने काम नहोस् भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । पहिलो चरणको आन्दोलनबाट माग पुरा नभए दोस्रो चरणको सशक्त आन्दोलन सुरू गर्ने बाल विकास शिक्षक संघ मोरङकी अध्यक्ष लीला धमालाले बताइन् । मोरङमा ९ सय बाल विकास शिक्षकहरू रहेका छन् ।
विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले संघीय सरकारले बाल विकास शिक्षकहरूको दिने अनुदान रकम बढाएपछि विराटनगर महानगरपालिकाले घटाएको बताए । ‘बाल विकास शिक्षकहरूले पहिलेको जति नै पाउँछन्’ उनले भने, ‘संघीय सरकारले यसअघि ८ हजार दिएकोमा १० हजार दिन थालेकोले महानगरले ७ हटारबाट घटाएर ५ हजार दिन थालेको हो ।’