विराटनगर । ऐतिहासिक दस्तावेजहरु संग्रहित रहेको आदर्श पुस्तकालयको अस्तित्व रक्षा गर्न एलिट क्लब विराटनगरले सार्वजनिक आव्हान गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गरी क्लबले सामाजिक सेवाको उद्देश्यले स्थापना भएको रोटरी क्लब इन्टरनेशनलले पुस्तकालयल अनधिकृतरुपमा कब्जा गरेको भन्दै त्यसको अस्तित्व रक्षा गर्न माग गरेको हो ।
वि.सं.२००३ मा स्थापना भएको आदर्श पुस्तकालयमा विराटनगरका नागरिक र देशका हस्तीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, भरतमोहन अधिकारी, राधाप्रसाद घिमिरे, तोरेन्द्रमान सिंह प्रधान आदिले अध्ययन गरेका थिए भने पुस्तक हस्तान्तरण गरेर समृद्ध बनाएका थिए । तर पछिल्लो समय रोटरी क्लब अफ इन्टरनेशनलले उक्त पुस्तकालय कब्जामा लिएर त्यसको अस्तित्व नामेट पारेको एलिट क्लबको आरोप छ ।
प्रेस विज्ञप्ति जारी गर्नुअघि शुक्रबार एलिट क्लबले पुस्तकालयको अवस्थाका बारेमा विराटनगरका बौद्धिक र सरोकारवाला पक्षसँग छलफल गरेको थियो । छलफलको निष्कर्शअनुसार नै प्रेस विज्ञप्ति जारी भएको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सेवाको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित समाजसेवी छवि भएको अन्तराष्ट्रिय संस्था रोटरी क्लब विराटनगरले पुस्तकालय जस्तो ज्ञानको मन्दिरलाई अनधिकृत रुपमा कब्जा गर्ने कुत्सित मनसाय राखेर काम गरिरहेकोप्रति विज्ञप्तिमा गम्भीर चिन्ता र चासो व्यक्त गरिएको छ । क्लबले पुस्तकालय कब्जा गर्ने कार्यलाई घृणित भनेको छ र त्यसको अस्तित्व रक्षा गर्न नागरिक समाज लगायत सबै पक्षसँग सहयोगको अपिल पनि गरिएको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!