मोरङमा प्रमुख दलका उम्मेदवार सिफारिस

मोरङमा प्रमुख दलका उम्मेदवार सिफारिस

विराटनगर । नेकपा एमालेले र काँग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट संघीय सांसदका उम्मेद्वारको नाम सिफारिस गरेका छन् । माओवादी केन्द्रले पनि आफ्ना कमिटीबाट उम्मेद्वार सिफारिस धमाधम भइरहेको जनाएको छ ।

क्षेत्र नम्बर १

मोरङको क्षेत्रनम्बर १ बाट नेपाली काँग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नामसिफारिस गरेको छ । सो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले नेता घनश्याम खतिवडा विजयी भएका थिए भने काँग्रेसका नेता लिम्बू पराजित भएका थिए ।

एमालेले भने हालसम्म उक्त क्षेत्रबाट प्रतिनिधि सभाका लागि नाम सिफारिस गरिसकेको छैन । उक्त क्षेत्रबाट खतिवडाका साथै पूर्व मन्त्री शिवमाया तुम्बाहाम्फेलाई सिफारिस गर्ने एमालेको तयारी छ । माओवादी केन्द्रले उक्त क्षेत्रबाट प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २

मोरङ क्षेत्र नम्बर २ बाट एमालेले प्रतिनिधिसभा सदस्यका लागि संविधान सभा सदस्य ऋषिकेश पोखरेलको नाम सर्वसम्मतले सिफारिस गरेको छ । पोखरेलले ०७० सालको निर्वाचनमा काँग्रेस नेता आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । ०७४ सालको निर्वाचनमाभने वाम गठबन्धनबाट उम्मेदवार बनेकापोखरेललाई काँग्रेस नेता डा.मिनेन्द्रप्रसाद रिजालले पराजित गरेका थिए ।

नेपाली काँग्रेसले भने उक्त क्षेत्रबाट रिजाल र काँग्रेस नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले उक्त क्षेत्रबाट गणेश उप्रेती (सुशील)लाई सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ३

यस्तै नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्माको नाम सर्वसम्मत सिफारिश गरेको छ । नोबेल मेडिकल कलेजका संचालक समेत रहेका शर्मा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता भानुभक्त ढकालसँग पराजित बनेका थिए । एमालेले भने ढकालको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

शर्मा नै काँग्रेसको उम्मेदवार बनेको खण्डमा पुनः ढकाल र शर्माको प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रबाट माओवादी केन्द्रले सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण)को नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ४

यस्तै मोरङ क्षेत्र नम्बर ४ बाट एमाले नेता विनोद ढकालको नाम सर्वसम्मत सिफारिश भएको छ । उक्त क्षेत्रबाट यसअघि वाम गठबन्धनका उम्मेद्वार अमनलाल मोदी निर्वाचित भएका थिए । मोदीले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए । यस पटक पनि गठबन्धन भए मोदी नै उम्मेदवार बन्ने छन् ।

मोदीको नाम माओवादीले सर्वसम्मत सिफारिस गरिसकेको छ । नेपाली काँग्रेसले भने उक्त क्षेत्रबाट नेता महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदारको नामसिफारिस गरेको छ ।

क्षेत्र नम्बर ५

यसैबीच मोरङ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेले योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस गरेको छ । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डल विजयी भएका थिए । मण्डलले काँग्रेस नेता अमृत अर्याललाई पराजित गरेका हुन् ।

माओवादी केन्द्रले पुनः सो क्षेत्रमा मण्डलको उम्मेदवारी सर्वसम्मत सिफारिस गरिसकेको छ । यता, सो क्षेत्रबाट नेपाली काँग्रेसले पुनः अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ६

निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले मोरङ ६ मा पूर्वमन्त्री लालबाबु पण्डित र प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरीको नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पण्डितले काँग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका थिए ।

काँग्रेसले उक्त क्षेत्रबाट डाक्टर शेखर कोइरालासँगै डाक्टर डिला संग्रौला, नेता रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस गरेको छ । यता, माओवादी केन्द्रले भने क्षेत्र नम्बर ६ बाट हेमबहादुर कार्की, नविन पौडेल र शिवकुमार कार्कीको नाम सिफारिस गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्