विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त पहलमा २४ लाख बराबरको २ हजार १ सय परिवारलाई पुग्ने खाद्यान्न प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको छ ।
दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई खाद्यान्न अभाव नहोस भन्ने उद्देश्यका साथ दुई संगठनको तर्फबाट सोमबार प्रदेश १ का मुख्यमन्त्री शेधरन राईलाई सो खाद्यान्न हस्तान्तरण गरिएको हो ।
सोहीमध्येबाट ३ सय ५० बोरा विराटनगर माहानगरपालिकाका प्रमुख भीम पराजुलीलाई, २ सय बोरा दुहबी नगरपालिका प्रमुख बेदकुमार गच्छदारलाई, १ सय २५ बोरा बुढीगंगा गाउँपालिका र १ सय २५ बोरा कटहरी गाउँपालिकामा वितरण गर्ने गरि हस्तान्तरण गरिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो ।
हस्तान्तरण गरिएको खाद्यान्नमा चामल, दाल, नुन तेल, चाउचाउ र विस्कुट रहेको छ । प्रतिपरिवार १ प्याकेटका दरले सबै सामान मिलाएर २ हजार १ सय प्याकेट बनाएर हस्तान्तरण गरिएको मोृरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताउनु भयो ।
दुवै संगठनले कोरोना भाइरस (कोभिड १९)बाट अहिलेको विषम परिस्थितिमा सबैलार्इ सुरक्षित रहन र लकडाउनलाई पूर्ण पालना गर्न अनुरोधसमेत गरेको छ ।