‘लकडाउन’ एक सातासम्म थप गर्ने तयारी

काठमाडौं । सरकारले दोस्रो पटक थप गरिएको लकडाउन थप एक साता लम्ब्याउने तयारी गरेको छ ।

‘लकडाउन’ले उकुसमुकुस भएका सर्वसाधारणले यस विषयमा के निर्णय हुन्छ भनेर चासोका साथ हेरिरहेका छन् । एकातिर लकडाउनले अस्तव्यस्त जनजीवन र अर्कोतिर कोरोना भाइरस संक्रमणको फैलिंदो अवस्थाले मानिस त्रसित बनिरहेका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै सरकारले आगामि चैत्र ३ गतेसम्म लकडाउनको समयावधि बढाउन लागेको बताइएको छ । अहिलेसम्म देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सुदूरपश्चिममा भारतबाट आएका युवकमा समेत संक्रमण देखिएपछि अरुमा पनि सर्ने सम्भावनाको कारण सरकारले र्यापिड टेष्ट गर्ने घोषणा गरिसकेको छ।

लकडाउन खुल्ला भए संक्रमण सर्न सक्ने सम्भावना बढी हुन्छ । यसअघि नै उच्चस्तरीय समन्वय समितिले एक साता समय थप गर्न छलफल अघि बढाएको छ। आइतबार बसेको समितिमा एक साताको लागि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ। सोही बैठकले लकडाउनको समय बढाउने भए कति बढाउने भन्ने बिषयमा ठोस निर्णय गर्ने छ।

सरकारले चैत १० गते पहिलो पटक सात दिनको लागि लकडाउन गरेको थियो। त्यसपछि पनि संक्रमित बिरामीको सङख्या थपिदै गएकाले लकडाउनको समय २५ गतेसम्म पुर्‍याएको हो।

सोमबार, २४ चैत, २०७६, बिहानको १०:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर