गंगालालको शाखाका लागि प्रदेशमा अध्ययन सुरु

विराटनगर । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँले प्रादेशिक शाखा विस्तारका लागि प्रदेश १ मा सम्भावित ठाउँहरूको अध्ययन थालेको छ । तीन वर्ष अघि नै प्रादेशिक शाखा बिस्तार गर्ने निर्णय गरेको केन्द्रले भर्खरै मात्रै अध्ययन थालेको हो ।

स्वास्थ्यमन्त्री भवानी खापुङले संरचना तथा उपकरणका लागि मन्त्रालयले सहजीकरण गर्ने आश्वासन दिएपछि सम्भावित ठाउँहरूको अध्ययन सुरु गरेको हो । पहिलो चरणमा मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा केन्द्रको टोली आएर अवलोकन गरेको छ ।

गंगालाल राष्ट्रिय हृदय केन्द्रका सञ्चालक तथा शाखा विस्तार संयोजक विजय राईको नेतृत्वमा आएको टोलीले विश्वविद्यालयको अध्ययन गरेको हो ।‘तीन वर्ष अघि भएको निर्णयको कार्यान्वयन थालेका छौं’ राईले भने ‘संरचना र उपकरण उपलब्ध गराए निर्णय भएको ५ वर्ष भित्रमा प्रदेशमै मुटुको अप्रेसन गर्ने गरी बनाउँछौँ ।’

विश्वविद्यालयमा गंगालालको शाखा विस्तार गर्न उपयुक्त देखिएको संयोजक राईले बताए । जनशक्ति मात्रै केन्द्रले उपलब्ध गराउन सक्ने उनले बताए । राजधानी बाहिर पनि हृदय रोगको उपचारमा सहज रुपमा गराउने उद्देश्यले मन्त्रीले चासो दिएको मन्त्री खापुङका स्वकीय सचिव मनोज लिम्बुले बताए ।

अवलोकन गर्न आएको टोलीलाई नगरप्रमुख केदारप्रसाद गुरागाईँले केन्द्रको शाखा नगरपालिकामा सञ्चालन गर्न आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए । विश्वविद्यालय प्रदेशवासीका लागि सबैभन्दा पायक पर्ने ठाउँ भएकाले चाँडै अन्तिम निर्णय गर्न समेत उनले आग्रह गरेका छन् । विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले यो क्षेत्र सबैको पायक पर्ने ठाउँ भएकाले विश्वविद्यालयमा राख्नका लागि पहल गर्ने बताए । शाखा सञ्चालनमा आएमा मुटुका बिरामी उपचारका लागि काठमाडौं जाने बाध्यता हट्नेछ ।

शुक्रबार, १७ भदौ, २०७९, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर