पछिल्लो समयमा मुलकभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । प्रदेश १ मा पनि दिनहुँजसो संक्रमितहरु थपिँदै गएका छन् । मुख्यमन्त्री राजेन्द्र राई स्वयम् संक्रमित बनेका छन् । यसपटकको सबैभन्दा सुखद् पक्ष के छ भने, अहिले सिकिस्त अवस्थामा पुग्ने विरामीको संख्या कम छ । पहिलो र दोस्रो लहरका बेला प्रदेशमा सिकिस्त बन्ने र ज्यान गुमाउनेको संख्या धेरै थियो । तर, अहिले त्यो संख्या न्यून छ । यसको एक मात्र कारण खोपको प्रभावकारिता नै हो । खोपको पूर्ण मात्रा लगाएकाहरुलाई कोरोनाले असर कम गरेको प्रमाणित भइसकेको छ । तसर्थ अब बाँकी रहेकाहरुलाई पनि खोप लगाउन प्रेरित गर्ने काम सरकारी पक्षबाट हुनुपर्छ । सर्वसाधारणले पनि खोपबाट टाढिन हुँदैन ।
प्रदेश १ स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशको कूल जनसंख्याको ६५ प्रतिशत हाराहारी संख्याले खोपको पूर्ण मात्रा पाइसकेका छन् । विराटनगर महानगरपालिकामा मात्रै २८ हजार ५ सय ८० जना बालबालिकाले खोप लगाइसकेका छन् । यसरी खोप लगाउनेको संख्या बढ्दै जानु भनेको कोरोनाबाट पीडित हुनेहरुको संख्या घट्नु हो । कम्तीमा उनीहरु सिकिस्त हुने जोखिम कम हुनु हो । खोप अभियानलाई प्रभावकारी बनाउन सक्दाको परिणाम हाम्रो आँखाअघि उपस्थित छ । अस्पतालहरुमा भर्ना हुने विरामी संख्या पनि कम छ । यो तथ्यलाई हेरेर सरकारले खोप अभियानलाई अझै विस्तार गर्न जरुरी छ ।
खोपको दायरामा आउन नसकेको जनसंख्याको ठूलो हिस्सा कुन उमेर समूहको बढी छ भन्ने यकिन तथ्यांक सरकारले निकाल्नुपर्छ । जोखिम समूहकै जनसंख्या कतै खोपको दायरामा आउन नसकिरहेको छ कि ? यसबारे पनि सरकारी निकायहरुले गम्भीरता देखाउनुपर्छ । खासगरी वडा तहले यसमा बढ्ता सक्रियता देखाउनु प्रभावकारी हुनसक्छ । आफ्नो वडाका कति जनसंख्या र कुन उमेर समूहका व्यक्तिहरु खोपको दायरा बाहिर छन् भन्ने खोज्न र पत्ता लगाउन वडालाई कुनै समस्या हुन्न । स्वास्थ्य स्वयम्सेविकाहरु तथा वडाकै अन्य जनशक्ति परिचालन गरेर पनि यो तथ्यांक भेट्न सकिन्छ । यसले छुटेकालाई खोप लगाउन प्रेरित गर्न सकिन्छ । त्यसले जोखिम घटाउन मद्दत पुग्नेछ ।
खोप अघिको अवस्था कति भयावह थियो भन्नेबारे हामी सबै जानकार छौं । देश लकडाउनको लामो कहर सहेर अर्थतन्त्र ध्वस्त भएको तथ्य भुल्न कठिन हुनेछ । त्यसबेलाको असरको घाउ अहिले पनि दुखिरहेको छ । कुनै न कुनै रुपमा अहिले पनि त्यो जोखिम उत्तिकै छ । देश उस्तै ठप्प हुन नदिन पनि सतर्कता आवश्यक छ । त्योभन्दा बढी खोप अभियानलाई अझै चुस्त र प्रभावकारी तुल्याउन पनि आवश्यक छ ।