रामचन्द्र अधिकारी
कोरोनाको आतंक र प्रकोप संसारभरि फैलिरहेको आजको सन्दर्भमा हात धुनु प्रमुख सावधानी हो भन्ने मान्यतासाथ यसैअनुसार सचेतना फिँजाइने गरिएको छ । कोरोनाको सन्त्राससँगै हात धुनुपर्ने रहेछ भन्ने चेतना पनि अधिकांश मानिसमा पुगेको छ । कोही अगाडि नै सचेत थिए भने पनि पूर्णतया पालना नगरेका थिए होलान् । तर, कोरोना आएपछि उनीहरुले पनि पालना गरेको पाइन्छ ।
हात हाम्रो शरीरको सबैभन्दा सक्रिय अंग हो– काम र प्रयोगका हिसाबले । हात यति चलायमान छ– अनावश्यक समयमा पनि यसले क्रियाकलाप गरिरहन्छ । जस्तै बोल्दा हात नहल्लाए पनि कुरा यदि बुझिन्छ भने किन हल्लाउने ? तथापि हल्लिन्छ । जे बस्तु चलाउनु पर्यो या शरीरले नै कुनै काम गर्नुपर्यो भने हात नै अघि सर्नुपर्छ । शरीरलाई सन्तुलित र दुर्घटनाबाट सुरक्षित राख्न हात चल्नुपर्छ ।
हाम्रो शरीरका तीन वटा सबैभन्दा फाहोरी अंगमध्येको एक हो– हात । हात शरीरका सबैजसो अंगमा घुम्छ, पुगेको हुन्छ । बाहिरी फोहोरी हुन् या सफा वस्तु हात नै चलाइन्छ । उसै पनि हातमा करोडौँको संख्यामा हानीकारक व्याक्टेरियालगायत अन्य कीटाणुहरु हुन्छन् । त्यसैमाथि अन्य गतिविधि पनि गरेपछि झन् फोहोर नहुने कुरै भएन ।
सबै ठाउँबाट रोगका कारक कीटाणुहरु हातमा सरेर आउँछन् । ढोकाको हेन्डल, पैसा, मोबाइल सेट, गाडीका हेन्डल, कम्प्युटरको किबोर्ड अनि आफ्नै शरीरका अंगहरुमात्र यदि छोइएको हो भने मात्रै पनि १० करोड वटा ब्याक्टेरिया हातको प्रतिवर्गइन्च क्षेत्रफलमा रहन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सर्वसाधारण मानिसका हातका टुप्पामा व्याक्टेरियाका करिब ४६ लाख वटा टुकडी प्रतिवर्गसेन्टीमिटरमा पाइने गरेको छ । चर्पीमा दिसा गरेर मलद्वार सफा गरी फर्केको मानिसका हातमा त २० करोड ब्याक्टेरिया प्रतिइन्च टाँसिएर आउँछन् । मानिसको हातमा बस्ने वा हातबाट सर्ने कीटाणुहरुले कोरोना, डिसेन्ट्री, हैजा, टाइफाइड, हेपाटाइटिस ए, सार्स, इन्फ्लुएन्जा, कन्जक्टिभाइटिसलगायत अनेकन रोग लगाउने हुन् । साइटोमेगालो भनिने हानिकारक भाइरस र क्यान्सर लगाउने इपिस्टेन बार भाइरसको बासस्थान पनि हात नै हो ।
अहिले सिंगो मानव जगतलाई आतंकित पार्ने कोरोना भाइरसको पनि बासस्थान हात पनि हो । हातका माध्यमबाट पनि एकबाट अर्कोमा सर्ने हो । साथै एक पटक हाछ्यूँ गर्दा २० हजार वटा मसिना छर्राहरु उछिटिन्छन् जसमा करोडौँको संख्यामा भाइरसलगायतका किटाणु हुन्छन् । हातले नाक छोपेर हाछ्यूँ गर्दा होस या हाछ्यूँ गरेको नाक सोझै हातले पुछ्दा होस् ती वस्तु हातमै आउने हुन् । कोरोना हातमा बसिरहन्छ, अनुकुल मौका पाउने बित्तिकै कोषभित्र पस्छ र गतिविधि सुरु गर्छ । यस क्रममा भाइरोन भनिने विष उत्पादन गर्छ अनि हामीलाई असर र लक्षणहरु देखिने हुन् । त्यसैले यसको संक्रमणबाट बच्न हात धोइरहनु पर्यो । केही काम नगरी बस्दा पनि केही घण्टाको अन्तरालमा धोइरहनु पर्यो ।
सुख्खाभन्दा ओसिला हात कीटाणुका लागि अनुकुल हुन्छन् । ओसिलामा सुख्खाको भन्दा एक हजार गुणा बढी व्याक्टेरिया हुने गरेको अध्ययनहरुले देखाएका छन् । हातमा टाँसिएका ब्याक्टेरिया तीनदेखि ४८ घण्टासम्म बाँच्छन् । त्यसबीचमा प्रजनन् गरिसकेका हुन्छन् । अनि एउटा टुकडीमा सातै घण्टामा सन्तान बढेर २० लाख ९७ हजारको संख्यामा पुग्छन् । सन् १९८८ मा युरोपमा गरेको अनुसन्धानले देखाएको छ की अस्पतालमा काम गर्ने नर्सको धोएर सफा बनाएको भनिएको हातमा पनि ग्राम नेगेटिभ व्याक्टेरिया भेटियो । स्वास्थ्यका क्षेत्रमा काम गर्ने विविध संस्थाहरुको अनुसन्धानले भनेको छ— हातमा सात जातिका १५० प्रजाति व्याक्टेरिया, छ जातिका फन्जाई, दुई जातिका यिष्ट प्रायसः स्थायी बासिन्दाका रुपमा रहन्छन् ।
अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले एक प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ– ८० प्रतिशत संक्रमण फोहोरी हातका कारण हुने गरेका छन् । कोरोनासम्बन्धी अनुसन्धान गरिहेका वैज्ञानिकहरुले भनेका छन्– हातमा बस्ने कोरोना यदि सो हात आँखा मिच्न, नाक कोट्याउन, मुखमा पुग्यो भने भाइरस ती ठाउँमा पुगेर त्यहाँका नरम कोषहरु छेडेर शरीरमा प्रवेश गर्दछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक साल ३५ लाख बालबालिका झाडापखालालगायत श्वासप्रस्वास सम्बन्धिका संक्रमणबाट मर्ने गरेका छन् । यस्ता संक्रमण हातकै माध्यमबाट हुने उसले भनेको छ । अविकसित देशका २० प्रतिशत बालबालिका हातबाट हुने संक्रमणबाट पीडित हुने गरेको तथ्यांक छ ।
हातमा बस्ने अनि पैसा(नोट), मोबाइल फोन, क्रेडिट कार्डलगायतका हातहातै चल्ने सामग्रीमार्फत कीटाणुहरु फैलिएर अरुलाई पनि असर गर्ने समस्या प्रसस्त छ । बेलायतको मेट्रो नामक संस्थाको अध्ययन प्रतिवेदन भन्छ कि १० प्रतिशत क्रेडिट कार्ड र १६ प्रतिशत मोबाइल फोनमा दिसाको अंश र दिसामा नै पाइने सूक्ष्म हानिकारक जीवहरु पाइए । त्यसैगरी सन् २००२ मा छापिएको साउथन मेडिकल विज्ञान पत्रिकाका अनुसार चलिरहेका ९४ प्रतिशत पैसामा दिसाको अंश पाइन्छ ।
यसकारण अति महत्वपूर्ण कुरा के भने अहिले कोरोनाको रोकथामको एउटा उपाय जुन हामीले अपनाएका छौँ हात धुने, यतिले मात्र सुरक्षित भइदैन । नोट, मोबाइलसेट, भिसा वा क्रेडिट कार्ड आदिमा पनि सावधानी अपनाउनुपर्ने हुन्छ । खास गरेर बैँकका कर्मचारी, यातायातका कर्मचारी या जुनसुकै संस्थाका पैसा चलाउने काम भएका मानिसहरु उच्च जोखिममा हुन्छन् । उनीहरुले ग्लोब लगाएर जोखिम घटाउन सक्छन् । नोटको त कुरै रहेन, बिबिसीले सन् २००४ को एउटा लेखमा लेखेको छ कि निकै व्यवस्थित र सफा मानिएको अफिसका सामग्र्रीहरुमा प्रतिवर्गइन्च २० हजार ९६१ वटा कीटाणुहरु रहेका हुन्छन् ।
एक सर्वेक्षणका अनुसार विश्वका ५३ प्रतिशत मानिसहरु दिसा गरेपछि हात धुन्छन् । तर, पिसाबपछि हात धुनेको संख्या साह्रै न्यून छ । सादा पानीले मात्र हात धुँदा खास प्रभाव पर्दैन, साबुन वा अन्य अन्य एन्टीब्याक्टेरियल रसायनमिश्रित वस्तु (एन्टीसेप्टिक)ले धुनुपर्छ । फेरि कतिबेरसम्म मिच्ने र कसरी पूरा हात सफा हुनेगरि धुने भन्ने कुराको पनि त हेक्का राख्नुपर्यो । साधारणतया आँखाले देखिने गरिको फोहोर नटाँसिएको हात २० सेकेन्डसम्म मिचेर मात्र पखाल्नुपर्र्ने सम्बन्धित क्षेत्रका जानकारहरुले आफ्ना लेखहरुमा उल्लेख गरेका छन् । त्यति मात्र होइन हातले कुनै काम गरेपछि नै र केही नगरे पनि प्रत्येक आधा वा एक घण्टामा साबुन लगाएर हात धुनुपर्यो ।
फोहोरी हात र हातमा कीटाणु अनि तिनीहरुबाट हुने संक्रमणबाट सर्वसाधारण मात्र होइन भिआईपीहरुसमेत पीडित छन् । राजनेता मात्र होइन सबै क्षेत्रका नेताहरु जो पटक–पटक फरक मानिसहरुसँग हात मिलाइरहेका हुन्छन्, स्वास्थ्यकर्मीहरु जसले फरक–फरक बिरामीलाई हातले छोएर चेकजाँज गरिरहेका हुन्छन् वा अन्य जोकोही जो हात मिलाएर अभिवादन गर्छन्, सबै हातका फोहोर र रोगजन्य कीटाणु साटासाट गरिरहेका हुन्छन् ।
हातमात्र सफा राख्ने हो भने यस्ता संक्रमणमा २० प्रतिशतले गिरावट ल्याउन सकिने संभावना देखिन्छ । कोरोनाबाट बच्न पनि हात धुनैपर्यो । हातमा सेनिटाइजर लगाउने भन्ने चाहिँ उति वैज्ञानिक कुरा होइन । त्यसमा प्रयोग हुने रसायनहरुको लाभ मात्र छैन, हानि पनि उत्तिकै छ । मात्रा मिलेन भने झन् असर पर्ने हो । तसर्थ सेनिटाइजरतिर ध्यान नदिए पनि हुन्छ, साबुन वा हात धुने साबुनयुक्त रसायन(हान्डवास) प्रयोग गरे भइहाल्छ भनेर सम्बन्धित क्षेत्रका विज्ञहरुले सुुझाएका छन् ।
हातसँगै सफा मोबाइल र सफा पैसा कसरी बनाउने भन्ने त ठूलो चुनौतिको विषय हो । तथापि सावधानी भने अवश्य अपनाउन सकिन्छ । जस्तैः बच्चालाई मोबाइल र पैसा खेलाउन टोक्न नदिने, पैसा गन्ने व्यवसायी र कर्मचारी बाहेककाहरुले पैसा चलाएपछि हात धुने गर्ने, हात मिलाएर अभिवादन व्यक्त गर्नुको विकल्प रोज्ने, अफिसमा हात पुछ्नका लागि एन्टीमाइक्रोब्स कागजहरुको प्रयोग गर्न सकिन्छ । हाल कोरोनाको संक्रमणबाट सुरक्षित हुन अपनाइएका उपायहरुमध्ये हात धुने काम प्रभावकारी देखिएको छ । तर, यो पूर्ण भने छैन । हात धुने मात्र होइन हातले के छुने नछुने भन्नेतिर पनि ध्यान दिनुपर्यो र पैसा र मोबाइलबाट पनि सावधानी अपनाउनु पर्यो । कोरोनाको त्रास रहुन्जेल मात्र होइन बाँकी जीवनभर हात धुने बानी पालन गरौं । यसो गरिएमा उल्लिखितअनुसारका कीटाणु र रोगव्याधीबाट बच्न सकिन्छ ।
इमेल: ramchandra.adhiakri@gmail.com