एजेन्सी । न्युयोर्कमा दुई नेपालीको मृत्यु भएको छ । दुवै जना ४० वर्ष माथिका पुरुष हुन् । उनीहरु दुवैको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएको छ । बिरामी अवस्थामा रहेका दुवै जनाको घरमै मृत्यु भएको बताइएकाृ छ ।
मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो ।
जमैकामा एक्लै बस्दै आउनुभएका सोनाम केही दिनदेखि बिरामी रहेको र फोन सम्पर्कमा नआएपछि बसेको स्थानमा गएर हेर्दा मृत अवस्थामा भेटिएका हुन् । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ ।
झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेको र अहिले शव कहाँ कुन अवस्थामा छ भन्ने कुराको कुनै जानकारी नरहेको बताइएको छ । सोनामको सबै परिवार नेपालमै छन् ।
त्यस्तै झण्डै १९ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेन बिष्टको पनि सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । विगत एकसातादेखि बिरामी रहेका उनको शव पनि प्रहरीले नै लगेको र सरकारले नै अन्त्यष्टि गरिसकेको बताइएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।
विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ । बिष्ट न्युयोर्कको सन्नीसाइडमा बस्दै आएको मुस्तांग किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टले जानकारी दिनुभयो ।
मृतकको दाहसंस्कारमा उहाँका दाजु र समुदायका अन्य व्यक्तिलाई समेत सहभागी हुन नदिइएको जनाइएको छ । थोंग्वेनका दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् ।
उहाँको पनि कोरोना संक्रमणबाट मृत्यु भएको अनुमान गरिएको छ तर रिपोर्ट आउन भने बाँकी रहेको छ । मृतक दुबैजना नेपाली नागरिक भएको जनाइएको छ ।