जिन्दगीलाई प्रश्न

 

जिन्दगीलाई साउती मारेर

सोधेँ मैले एकदिन

जिन्दगीको प्रश्न,

उता आँगनसम्म आएर

मृत्यु मुख मिठ्याउँदै थियो ।

 

आफन्तले ल्याइदिएका

फलफूल, दूध र घ्यू

अण्डा र मासु

काजु, किसमिस र बदाम

भान्साभरि चुपचाप चुपचाप बसेका थिए,

मुछेर छोडेको खानामा

झिँगाको साम्राज्य थियो ।

त्यही बेला

जिन्दगीलाई कोट्याएर

सोधेँ मैले एकदिन

जिन्दगीको प्रश्न,

जिन्दगी कोमामा थियो

उता बलेंसीसम्म आएर

मृत्यु जिब्रो फट्कार्दै थियो ।

 

खाँदै गरेका

औषधि थिए टेबुलमा

थर्मसभित्र तातोपानी थियो

प्लाष्टिकभित्र थुनिएको अवस्थामा

केही थान सूई थिए

स्लाइनको पाइप

एक्लै झुण्डिरहेको थियो

छतमा पङ्खा घुमिरहेको थियो

ठीक यही बेला

जिन्दगीलाई हल्लाएर

सोधेँ मैले एकदिन

जिन्दगीको प्रश्न ।

 

जिन्दगी अन्तिम हरफ

कविता लेख्दै थियो शायद जिन्दगीको,

उता मृत्यु

ढ्याप्पै ढोका थुनिने गरी

मुल ढोकामा उभिएर

मृत्यु गीत गाउँदै थियो ।

यस्ता थुप्रै घटना भए

एकएक दिन गरेर धेरै दिनसम्म

जो म तपाईँलाई बुझाउन सक्दिनँ ।

एकदिन

जब मैले जिन्दगीलाई

गहिरो निद्राबाट फर्काउन

ज्यादै धेरै झक्झक्याएँ

जिन्दगीले कोमा त्याग्यो

जुरुक्क उठ्यो जिजीविषा बोकेर

मैले ठिक त्यही बेला

मृत्युलाई हेर्न चाहेँ

ऊ थिएन त्यहाँ ।

सोमबार, २७ असार, २०७९, रातीको ०९:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर