जनकपुरधाम । प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि युद्धस्तरमा तयारी थालेको छ । महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदुरहरूलाई स्थानीयतहमार्फत राहत उपलब्ध गराइरहेको प्रदेश सरकार महामारी नियन्त्रणका लागि दोस्रो चरणमा प्रवेश गरेको छ ।
मुख्यमन्त्री लालबाबुको नेतृत्वमा गठित कोरोना महामारी नियन्त्रण निर्देशक समितिको आज बसेको बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढस्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिनुका साथै मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । बैठकले महामारीसँग लडन आठवटै जिल्लामा एक÷एक वटा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनुभयो ।
सो बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरूको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तयारीमा जुटनसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले प्रादेशिक अस्पताल जनकपुर कोरोना परीक्षणका लागि पिसिआर मसिन जडान भई परीक्षण शुरु गरिसकेको अवस्थामा प्रदेशका प्रमुख व्यापारिक नगरी वीरगञ्ज र सप्तरीको राजविराजमा पनि पिसिआर मेसिन जडान गर्न स निर्देशन दिएको छ ।
कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेशमा भेन्टिलेटरसहितको आइसियु तयार गर्न समेत निर्देशन दिएको छ । प्रदेशका लागि ५ं० वटा भेन्टिलेटर खरिद गरी प्रादेशिक अस्पताल जनकपुरमा १०, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य छ वटा जिल्लामा पाँच/पाँच वटा भेन्टिलेटर जडान गर्न निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताउनुभयो ।
यसैगरी, निर्देशक समितिले अहिलेको विशेष परिस्थितिमा खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ । यस निर्णयले खरिद ऐनको विशेष परिस्थितिबमोजिम दु्रत मार्गबाट आवश्यक सामग्रीहरू खरिद गर्न सकिने छ । यसका साथै, प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्राविधिक रणनीति आवश्यक रहेको महशुस गर्दै महामारीविरुद्ध विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरू सम्मिलित स्वास्थ्य सल्लाहकार समिति समेत गठन गरेको छ । यस समितिलाई थप विशेषज्ञहरू राय सुझावसहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ । समितिले निर्देशन समितिको निर्देशनबमोजिम आजबाट आफ्नो काम शुरु गरिसकेको छ ।