सुरक्षाकर्मी र काठ तस्करबीच गोली हानाहान

चोरी सिकारीमा संलग्न तीनजना नियन्त्रणमा

विराटनगर । लक डाउनको मौका छोपी काठ तस्करी गरिरहेको सूचनाका आधारमा गस्तीमा गएको सशस्त्र वन रक्षक तथा सशस्त्र प्रहरीको संयुक्त टोली र काठ तस्कर समूहबीच मोरङ सुन्दरहर्रैंचामा गोली हानाहान भएको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा पर्ने लोहन्द्र केराबारी साझेदारी र सलकपुर सामुदायीक बनकोबीचमा पर्ने राष्ट्रिय वन भित्र शुक्रबार दिउँसो ३ बजेतिर गोली हानाहान भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताउनु भयो ।

सुरक्षाकर्मीको संयुक्त टोलीले सिकारीको समुहलार्इ घेराबन्दीमा परेपछि सिकारीको समुहले ९ राउण्ड गोली चलाएको थियो । संयुक्त गस्ती टोलीले जवाफी ७ राउण्ड हवाई फायर गरेको घिमिरले बताउनु भयो ।

संयुक्त गस्ती टोलीले चोरी सिकारीमा संलग्न तीनजनालाई गोली हानाहानपछि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका ८ आमजुङ्गीका ३५ वर्षिय गम्बरबहादुर जोगी, सोही स्थानका २७ वर्षिय किसन कार्की र झापा बुद्धशान्ति ३ का किरण धिमाल रहेका छन् । सिकारीको साथबाट २ नाल भरुवा बन्दुक, २ सय ग्राम बारुद र केही छर्रा बरामद भएको छ । करिब २५ जनाको तस्करको टोली रहेको अनुमान आफूहरुले गरेको घिमिरेको दाबी छ । अन्यलाई भने पक्राउ गर्न नसकिएको उहाँले बताउनु भयो ।

पक्राउ परेकाहरुलाई वन ऐन र हात हतियार खरखजना ऐन कानुनी कारवाही अगाडी बढाइने घिमिरेले जानकारी दिनुभयो । पछिल्लो समय वनमा डढेलो लगाएर चोरी सिकारी गर्नेको समूह सक्रिय छ । बुधबार मोरङको पथरीमा पर्ने वनमा चोरी सिकारीको पिछा गर्दै प्रहरी टोली पुगे पनि सिकारीको टोली फरार भएको थियो ।

शुक्रबार, २१ चैत, २०७६, रातीको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर