विराटनगर । धान रोप्ने समय नजिक आइरहेको बेला चर्किएको मल अभावबीच विराटनगरबाट ‘लिक्विड युरिया’ बजारमा आएको छ ।
धान रोप्ने सिजन सुरू हुनैलाग्दा मल अभाबले समस्यामा रहेका किसानहरुलाई थोरै राहत दिने लिक्विड युरिया बजारमा आएको हो । एक बोरा युरिया बराबरको काम ५०० ग्रामको लिक्विडले गर्ने दावी नेपालस्थित मुख्य विक्रेता नेपाल मल्टी ट्रेड सेन्टरले गरेको छ । सेन्टरका सञ्चालक राकेश सुरानाले बताए ।
नेपालमा हरेक वर्ष दोहोरिने मल अभावको समस्या सुल्झाउन तरल युरिया सहयोगी हुने दाबी गरिएको छ । ‘तरल युरिया देशभर अब सहजै उपलब्ध हुनेछ’, सुरानाले भने ‘ठोस युरियाको आधा हिस्सा यसले धान्नेछ।’
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले परीक्षण गरेर प्रयोग गर्न मिल्ने प्रमाणित गरेपछि सरकारले आयातको अनुमति दिएको बिक्रेता कम्पनीले जनाएको छ । नार्ककै सिफारिसका आधारमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो मलको प्रयोग नेपालमा खुला गरेको मल्टी ट्रेड सेन्टरले जनाएको छ।
भारतमा सफल प्रयोग भइसकेको ‘इफको नानो झोल युरिया’ सोमबार विराटनगरमा एक कार्यक्रममा कृषिमन्त्री झलकबहादुर दर्लामीले ‘लन्च’ गरेका हुन्। मन्त्री दर्लामीले कम्पनीले दाबी गरे अनुसारकै काम मलले गर्ने हो भने नेपालमा मल अभावको समस्या धेरै कम हुने विश्वास व्यक्त गरे ।
भारतको गुजरातस्थित ‘इफको’ कृषि सहकारी संस्थामार्फत् भारतीय कृषि वैज्ञानिकहरूले बनाएको यो झोल युरिया त्यहाँ एक वर्षअघिदेखि प्रयोगमा आइसकेको छ। दुई वर्षसम्म भारतका ११ हजार कृषि केन्द्रहरूमा परीक्षण गरेपछि भारत सरकारले मल प्रयोगको अनुमति दिएको कम्पनीका प्राविधिक राजीव लोचनले बताए ।
अहिले नेपाल, श्रीलंका, नाइजेरिया लगायतका विश्वका ११ मुलुकमा यो मल बजार पुग्न लागेको जानकारी दिँदै लोचनले इजरायलले समेत यो मलमा रूचि देखाएको दावी गरे । ‘भारतमा सफल भएको मलको बिक्री अब नेपालमा हामी सुरू गर्दैछौं’, नेपाल मल्टी ट्रेड सेन्टरका प्रमुख सुरानाले भने, ‘यसले ठोस युरियाको अभाव टार्ने र किसानलाई राहत पुग्ने अपेक्षा गरेका छौं।’
तरल युरियाको उत्पादक इफकोका कृषि प्राविधिकहरूको समेत उपस्थितिमा भएको कार्यक्रममा दिइएको जानकारी अनुसार भारतमा पहिलो वर्ष २.९ करोड बोत्तल खपत भएको यो मल दोस्रो वर्ष २.१५ करोड बोत्तल बजारमा पुगेको छ। ‘माग अझै उच्च भइरहेको छ’, कार्यक्रममा उपस्थित भारतीय कृषि प्राविधिक लोचन भने, ‘भारतमा ठोस युरियाको राम्रो विकल्प तरल युरिया भएको छ। हामी आशा गर्छौं नेपालमा पनि सोही अनुपातमा यसले ठाउँ लिनेछ।’
एक बोत्तल नानो झोल युरियालाई ४ सय रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ । कृषि प्राविधिक लोचनका अनुसार नानो तरल युरिया पानीमा घोलेर कुनै पनि बालीको पातमा पर्नेगरी छर्कनुपर्छ।
ठोस युरिया प्रयोग गरिने जुनसुकै बालीमा तरल युरिया प्रयोग गर्न सकिने उनले बताएका छन्। तर, कुनैपनि बाली लगाएको ३० या ३५ दिन पुरा भएपछि मात्र यसलाई प्रयोग गर्न सकिन्छ ।
खेतीमा पहिलो पटक भने ठोस युरिया नै प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ । दोस्रो र तेस्रो पटक भने यो लिक्विड प्रयोगथ गर्न सकिने उनको भनाइ छ । ‘धान रोप्दा सुरूमा ठोस युरिया नै उपयोग गर्नुपर्छ’, उनले भने, ‘तर, ३० दिनपछि धानको पात राम्ररी विकास भइसकेको हुने हुनाले नानो प्रयोग गर्न सकिन्छ।’ उनका अनुसार धान, मकै वा अन्य बालीको फूल खेल्नुभन्दा एक साताअघि नै यो मल प्रयोग गर्नुपर्दछ।
एक लिटर तरल युरिया दुई सय लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्ने बताइएको छ । कुनैपनि वनस्पतिका लागि नाइट्रोजन अत्यावश्यक तत्व हो। युरिया मलबाट नाइट्रोजनको आवश्यकता पूरा गरिन्छ। बालीनालीको हरियोपन बढाउन, बालीको राम्रो हुर्काइमा सघाउन युरिया सहयोगी हुने गरेको छ।
इफको नानो युरिया झोलको प्रयोगले बालीको उत्पादकत्व बढाउने, उत्पादनको पोषक तत्वमा वृद्धि गर्ने, पारम्परिक युरियाको आवश्यकतालाई ५० प्रतिशत कम गर्ने, उत्पादनको गुणस्तर बढाउने लगायतका फाइदा हुने उत्पादक कम्पनीको दावी छ ।
Derai ni ramro x hajur tar bazar ma rate ma pani kehi chalkhel hola ki ser