दमक । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने नेता, कार्यकर्ताहरुलाई कारवाही गर्ने भएको छ ।पार्टीका उम्मेदवारलाई असहयोग गरि अन्तरघात गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गर्न थालिएको हो ।
झापाको गौरादहमा पार्टीले नराम्ररी पराजय व्यहोरेपछि नगर सभापतिसहितका ५ जना नेतालाई कार्वाहीको सिफारिस भएको छ । गौरादह– वडा नं. १ समिति नगर सभापति यादवराज सेढाईसहित इमानसिंह तामाङ, लिलानाथ पराजुली र बन्दना सेढाईलाई कार्वाहीको सिफारिस गरेको छ ।
उनीहरुले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै पार्टीका उपल्लो तहमा सिफारिस गरिएको हो । मेउरको आकांक्षी रहेका सेढाईले टिकट नपाएपछि अन्तरघात गरेको पार्टीले जनाएको छ ।
गौरादहमा कांग्रेसले यसअघि मेयरसहित तीन वटा वडा जितेको थियो । तर, यसपटक गठबन्धन गर्दा मेयर हारेको छ भने २ वडा मात्र जितेको छ । गौरादह २ मा गोपाल कोइराला र ६ मा तोया प्रसाई निर्वाचित भएका छन् ।
यसैगरि गौरीगञ्जमा पनि महाधिबेशन प्रतिनिधि निरज अग्रवासहितका नेताहरु कारवाहीमा पर्ने भएका छन् । दमकमा प्रदेश प्रतिनिधि घनेन्द्रराज योङयासहितका केहि नेता तथा अगुवा कार्यकर्ताहरु कारवाहीको सिफारिसमा पर्ने भएका छन् । महाधिबेशन प्रतिनिधि रमा लिम्बू, दमक–१ का कांग्रेस वडा सभापति गजेन्द्र देवानलगायतले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कारवाही गर्न लागेको काँग्रेसले जनाएको छ ।
उनीहरुले निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई हराउन विपक्षीलाई सहयोग गरेको तथा चुनावी प्रचारलगायतका कार्यक्रममा समेत सहभागी नभएको बताइएको छ ।