पहिलो सहभागितामै गुजरातले जित्यो आइपिएलको उपाधि

विराटनगर । नवप्रवेशी टिम गुजरात टाइटन्सले आइपिएल २०२२ को उपाधि जितेको छ। आइतबार अहमदावादमा भएको फाइनल भिडन्तमा राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात च्याम्पियन बनेको हो।

यहीँ सिजनदेखि आइपिएलमा प्रतिस्पर्धा गर्न थालेको गुजरात १४ वर्षपछि च्याम्पियन बन्ने राजस्थानको लक्ष्य बाधक बन्यो। राजस्थान पछिल्लो पटक सन् २००८ को पहिलो सिजनमा च्याम्पियन बनेको थियो।

फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका कप्तान हार्दिक पान्ड्याले ३० बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । शुभमन गिलले ४३ बलमा ३ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे । फिनिसर डेविड मिलर १९ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे ।

ओपनर ऋद्धिमान शाह ५ र तेस्रो नम्बरका म्याथ्यु वेड ८ रनमा आउट भए । तर तेस्रो विकेटका लागि गिल र हार्दिकले ५३ बलमा ६३ रनको साझेदारी गर्दै जितको आधार पक्का गराए । स्पिनर युजभेन्द्र चहलले हार्दिकलाई स्लिपमा यशस्वी जैसवालबाट क्याच गराउँदै पर्पल क्याप पक्का गराए । राजस्थानका प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए ।

राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ४ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । जैसवाल यश दयालको बलमा डीप स्क्वायर लेगमा साई किशोरबाट क्याच हुनुअघि १६ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाए ।

हार्दिक पान्ड्याको नवौं ओभरको दोस्रो बलमा कप्तान सञ्जु स्यामसन एज लागेर थर्डम्यानमा किशोरबाट १४ रनमै आउट भए । सञ्जुको विकेट नै गुजरातको लागि टर्निङ प्वाइन्ट बन्यो । राशिद खानको १२ औं ओभरको पाँचौं बलमा देवदत्त पाडिक्कल १० बल खेल्दै दुई रनमा आउट भए ।

हार्दिकको १३ औं ओभरको पहिलो बलमा जस बटलर आउट साइड एज लागेर ऋद्धिमान शाहबाट क्याच भएपछि राजस्थान समस्यामा परेको थियो । शिम्रन हेटमायर ११, रविचन्द्रन आश्विन ६ र ट्रेन्ट बोल्ट ११ रनमा आउट भए । रियान पराग १५ रनमा आउट भए ।

गुजरातका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । स्पिनर रविश्रिनिवास साइ किशोरले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, राशिद खान र यश दयालले १–१ विकेट लिए । गुजरात शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
एजेन्सीहरुको सहयोगमा

सोमबार, १६ जेठ, २०७९, बिहानको १०:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर