विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन् ।
आइतबार गणतन्त्र दिवसको अवसरमा एक शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन अपील गरेका छन् ।
नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएको प्रचण्डको भनाइ छ ।
‘आजको दिन नेपाली जनताको सदियौंदेखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो’, प्रचण्डले भनेका छन्, ‘१० वर्षे महान् जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।’
प्रचण्डले गणतन्त्र दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।