विराटनगर । जनताको काम गर्नेले कहिल्यै हार्नुपर्दैन भन्ने कथनलाई तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अम्बरबहादुर गुरुङले पुष्टि गरेका छन् । २०४३ सालयता लगातार जनप्रतिनिधि भइरहेका उनी प्रधानपञ्च, गाविस अध्यक्ष र वडाध्यक्ष भइसकेका छन् ।
करिब २५ वर्षको उमेर प्रधानपञ्च भएका गुरुङ ६१ वर्षको उमेरमा वडाध्यक्ष निर्वाचित भएका छन् । पञ्चायती शासन व्यवस्थामा २०४३ सालमा तत्कालीन सोल्मा पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका उनी जनपक्षीय उम्मेदवार थिए । २५ वर्षको कलिलो उमेरमा प्रधानपञ्चमा भिड्दा उनलाई धेरैले पत्याएका थिएनन् ।
पञ्चहरूको दबदबा भएका बेला जनपक्षीय उम्मेदवारको रूपमा निर्वाचित भएका उनी त्यसयता उम्मेदवार बन्दा कहिल्यै हारेका छैनन् । उनी लालिगुराँस नगरपालिकाको वडा नम्बर ९ मा दोस्रो कार्यकालको लागि वडाध्यक्ष बनेका छन् ।
२०४९ सालमा नेकपा एमालेबाट तत्कालीन सोल्मा गाविसको अध्यक्षमा निर्वाचित भएका उनी २०५४ सालमा पुनः गाविस अध्यक्ष भएका थिए । जनताको पसिना खान नहुने भन्दै जनताको काममा जाँदा आफ्नै खर्चले चियाखाजा खुवाउने उनको आर्थिक अवस्था भने सामान्य छ । तर, गुरुङलाई गाउँ विकासको मोडलको रुपमा स्थानीयले चिन्ने गरेका छन् ।
प्रधानपञ्च भएकै समयमा २०४५ सालमा वामपन्थी भनेर गुरुङलाई पक्राउ गरि जेल हालिएको थियो । त्यस समयमा ३२ दिन जेलजीवन बिताएका थिए । २०४७ साल आफ्नै गाउँ पुरुन्दीनमा रहेको कालिका प्राथमिक विद्यालयमा पूर्वपञ्चहरूको समूह र कम्युनिष्टबीच दोहोरो भिडन्त हुँदा नेतृत्व गर्ने उनै थिए ।
गाउँमा कम्युनिष्ट विचारधारा राख्नेहरूमाथि पूर्वपञ्चहरूले अत्याचार गर्न थालेपछि उनीहरूमाथि जाईलाग्नुको कुनै विकल्प नभएको गुरुङले बताउँछन् । जनताले पालेका खसीबोकादेखि अन्नबालीसमेत पञ्चहरूको समूहले उठाउन थालेपछि उनी आन्दोलित भएका थिए । आन्दोलनले उग्ररूप लिन थाले पनि प्रहरीले पञ्चहरूका नेतालाई नियन्त्रणमा लिन नसकेकोले उनले आफै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।
गाउँमै दोहोरो झडप भएको ३ वर्षपछि उनीमाथि पूर्वपञ्चहरूको समूहले बाटो ढुकेर ज्यान मार्नेगरी आक्रमण गरेको थियो । सदरमुकाम म्याङलुङ बजारबाट घरतर्फ फर्कने क्रममा जिरिखिम्ती बजारनजिक पूर्वपञ्चहरूको एक समूहले बाटो ढुकेर उनीमाथि खुकुरी प्रहार गरेका थिए । निधारमा प्रहार भएको खुकुरीको चोटको खत अझै रहेको छ ।
एमाले जिल्ला कमिटि तेह्रथुमले त्यसबेला हेलिकप्टर बोलाएर उनलाई काठमाडौं पठाएको थियो । एमाले प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने त्योबेला एमाले तेह्रथुमको सचिव थिए । त्यसबेला सिडिओली हेलिकप्टर नमगाएको भन्दै एमाले कार्यकर्ताले सिडिओमाथि हातपातसमेत गरेका थिए ।
उपचारपछि गाउँ फर्किएर उनी राजनीतिमै सक्रिय भए । माओवादीको जनयुद्ध सुरु भएपछि काठमाडौँमा गएर बसेका उनी त्यसपछि एमाले छाडेर कांग्रेस प्रवेश गरे । उनी अहिले नेपाली कांग्रेस लालीगुराँस नगर कमिटीको अध्यक्ष छन् ।
गुरुङले ५ पटक प्रतिद्वन्द्वीलाई पछि पार्दै चुनावमा विजय हासिल गरिसकेका छन् । ५ दशक जनप्रतिनिधि बनेका गुरुङप्रति जनता पनि खुसी छन् । विकासका मोडलसमेत मानिएका गुरुङले जनताको काम गर्दा भने भेदभाव गर्दैनन् ।
लालीगुराँस नगरपालिकामा मेयर अर्जुन मावोहाङका बुवा स्वर्गीय डम्बरबहादुर मावोहाङ र गुरुङ समकालीन हुन् । डम्बरबहादुर तत्कालीन वसन्तपुर गाविसका अध्यक्ष हुँदा गुरुङ सोल्मा गाविसका अध्यक्ष थिए । दुबै जनाले कांग्रेसको राजनीति पनि सँगै गरे । अर्जुनको मेयरमा यो दोस्रो कार्यकाल हो ।
बुबाका समकालीन गुरुङले छोरा अर्जुनलाई जिताउन उनको ठूलो भूमिका छ । छोरोको अन्डर बसेरसमेत उनले एउटै पदलाई दोहोर्याई रहेका छन् । जनताको सेवा गर्ने भएकाले पद ठूलो र सानो नहुने उनी बताँउछन् ।