हर्क साम्पाङले चुनाव जिते : अब जनताले पानी पाउँछन् ?

‘हर्क सही ठाउँमा पुगेको छ । सही तरिकाले नै काम गर्नुपर्छ । काम नगरे हर्कलाई पनि अर्को पटक दिँदैनन् नि । पानी र बाटो बनाइ दिनुपर्यो हामीलाई,’ धरान १७ का ७७ वर्षीय नवलबहादुर राईले भने ।

विराटनगर । खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका हर्क साम्पाङले चुनाव जितेपछि भने अब खानेपानी पाउने आशामा छन् धरानका मततादा ।

राजनीतिक दलका नेताहरुले पटकपटक खानेपानीकै मुद्दा लिएर चुनाव जिते । तर, यसको स्थायी समाधान गर्न सकेनन् । खानेपानीको स्रोत व्यवस्थापन तथा उपलब्ध स्रोतको सही परिचालन हुन नसकेको साम्पाङको भनाइ थियो । उक्त व्यवस्थापन आफूले चुनाव जितेर गर्ने उनको प्रतिबद्धता पनि थियो । तर, के अब खानेपानी समस्या समाधान गर्न उनी सक्छन् त ? उनका सामू प्रश्न उठिरहेको भएपनि धरानका जनताले भने उनलाई आशाको नजरले हेरिरहेका छन् ।

धरानको २० वटै वडामा खानेपानीको समस्या छ । लिफ्टीङ नहुने । पानी आए पनि मोटर लगाएर तान्नुपर्ने । आधा घण्टा पनि पानी नआउने । जारको पानी किनेर खानु पर्ने, पहुँच हुनेको धारामा पानी लगातार जाने जस्ता समस्या धरानमा थियो । ‘अब केही हदसम्म समस्याको समाधान हुन्छ होला जस्तो लाग्छ । काम गर्ने वातावरण कस्तो हुन्छ ? उनले काम गर्न सकेनन् भने जनताले मार्दैनन् ?’, धरानको वडा नम्बर १० का अशेष खड्काले भने, ‘जनताको लाजले पनि हर्क साम्पाङले काम गर्छ जस्तो लाग्छ । अरुजस्तो चुपलागेर बस्दैनन् होला जस्तो लाग्छ ।’ यसअघिका स्थानीय सरकारले पाइप त घरघरमा पुर्याएका थिए । तर, पानी पुगेन । ‘हामीलाई घरघरमा पाइप र धाराको टुटी पुर्याएर मात्रै त हुँदैन थियो नि,’ खड्का भन्छन्, ‘त्यहाँ पानी आउनु पर्यो होइन र ? त्यही, कांग्रेस, त्यही एमाले, त्यही माओवादीभन्दा केही फरक हुन्छ होला जस्तो लागेको छ ।’

धरान १७ का अयुव राई पनि राजनीतिक पार्टीका नेताहरुले विभेदपूर्ण ढंगले पानी वितरण गरेको र निरिह जनतालाई मारमा पारेको कारण जनताले यस पटक नेतृत्व परिवर्तन गरेको बताउँछन् । ‘धरानमा जनतालाई पुग्ने पानी यहीँ प्रसस्त छ । राजनीतिक पार्टीका नेताहरुले निकटकालाई पानी दिने, कोही ठाउँमा धेरै दिने कोही ठाउँमा नदिने खालको अवस्था भयो,’ अयुवले भने, ‘इमान्दारिता भएन । ट्यांकरमा कालोबजारी गरेर पानी बेच्ने काम पनि भयो ।’ अब त्यस्तो नहुनेमा उनी पनि आशावादी छन् ।

धरान १७ का नवलबहादुर राई ७७ वर्षका भए । उनले ०७४ सालमा तारा सुब्बालाई मत हाले । ०७६ मा तिलक राईलाई पनि मत हाले । तर, उनको एजेण्डा खानेपानी समस्या कहिल्यै समाधान भएन । त्यसपछि विकल्पमा लागेको उनले बताए । भूतपूर्व भारतीय आर्मीसमेत रहेका उनी अब हर्क साम्पाङले पनि राम्रो काम नगरे जनताले नछोड्ने उनी बताउँछन् ।

‘विकास निर्माणको लागि सबै पार्टीका नेतालाई हर्केले बोलाउनु पर्यो । हर्केले बोलाएको ठाउँमा आएन भने फेरि अर्को तरिकाले खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘हर्के सही ठाउँमा पुगेको छ । सही तरिकाले नै काम गर्नुपर्छ । काम नगरे हर्केलाई पनि अर्को पटक दिँदैनन् नि । पानी र बाटो बनाइ दिनुपर्यो हामीलाई ।’

धरान ११ का राजेश खिम्दुङ पनि अब खानेपानी लगायतका केही समस्या हल हुनेमा ढुक्का छन् । हर्क साम्पाङलाई चुनाव जिताउने अभियानमा हिंडेका उनी आफूहरुसँग भिजन भएको दाबी गर्छन् । तर, कार्यान्वयन गर्दा हर्क साम्पाङले पनि अक्कल लगाउनु पर्ने उनको सुझाव छ । ‘हामीसँग भिजन पनि छ । हर्क साम्पाङले अब कसरी समाधान गर्न सक्छु भन्ने विषयमा चाहिं अक्कल लगाएर काम गर्नुपर्यो । असम्भव भन्ने चिज केही छैन,’ उनले भने ।

सोमबार, ०९ जेठ, २०७९, दिउँसोको ०२:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर