विर्तामोड । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्ण सिटौलाको गृहनगर भद्रपुरको मेयरमा काँग्रेस विजयी भएपनि गठबन्धबाट उपमेयरको उम्मेदवार रहेको माओवादी केन्द्र पराजित भएको छ ।
प्रमुखमा कांग्रेसका गणेश पोखरेल विजयी हुँदा माओवादीबाट उपप्रमुखमा उम्मेदवार बनेका शिवकुमार राजभण्डारी राप्रपाकी राधा कार्कीसँग पराजित भए ।
प्रमुखमा विजयी पोखरेलले १२ हजार ५ सय २५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका असारु राजवंशीले ९ हजार ७५९ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा राप्रपाकी कार्कीले ९ हजार २३० मत पाउँदा गठबन्धनका उम्मेदवार राजभण्डारीले ८ हजार ५३३ मत पाए । सिटौलाकै घर भएको वडा भद्रपुर ९ को गणनाबाट कार्कीले राजभण्डारीलाई उछिनेर अग्रता लिएका थिइन् । वडामा भने एमालेका रामप्रसाद दाहालको प्यानलै विजयी भएको छ ।
२०७४ को निर्वाचनमा भद्रपुरको प्रमुखमा एमालेका जीवनकुमार श्रेष्ठ र उपप्रमुखमा चन्द्राकुमारी श्रेष्ठ विजयी भएका थिए ।